तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस स्वतन्त्रता र सञ्चार क्षेत्रको समस्या समाधानमा सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रेस स्वतन्त्रता र सञ्चार क्षेत्रको समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

प्रेस चौतारी नेपालको २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उपप्रधान एवम् अर्थमन्त्री पौडेलले हरेक परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण भएको भन्दै सञ्चार क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर रहेको बताउनुभयो ।

उपप्रधान एवम् अर्थमन्त्री पौडेलले प्रेस चौतारीले उठाएका पत्रकार बिमा, न्यूनतम पारिश्रमिक, सञ्चार प्रतिष्ठान र दुर्घटना बिमा लगायतका मुद्दामा सरकार सकारात्मक रहेको बताउनुभयो । 

उहाँले सरकारी अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य उपचारलाई कार्यान्वयनका लागि अघि बढाउने आश्वासन दिनुभयो । 

प्रेस चौतारी नेपालले स्थापना दिवसका अवसरमा विभिन्न ६ विधामा पुरस्कार प्रदान गरेको छ । प्रेस चौतारीले हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार र डा बालकृष्ण चापागाईँलाई प्रदान गरेको छ । 

यस्तै अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार कृष्ण केसी (लमजुङ), वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लक्ष्मी साह (बारा), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार याम शर्मा (दैलेख), लाई प्रदान गरेको छ ।

यसैगरी सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार लीलाराज भट्टराई (सुनसरी) चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार ममता भट्ट (डडेलधुरा)लाई प्रदान गरिएको छ ।     

प्रेस चौतारीले आफ्ना अग्रजको सम्मान तथा क्रियाशील पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रघु मैनालीको संयोजकत्वमा तीन सदस्यीय छनोट समितिले पुरस्कृतको नाम चयन गरेको हो ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button