स्थानीयको विरोध पछि पिपरा सडकको नामाकरण तथा अनावरण स्थगित

वीरगंज । स्थानीयको विरोधपछि वीरगंज महानगरपालिकाले आज एक सूचना जारी गर्दै महानगरपालिकाको वडा नम्बर १४ पिपरास्थित सडकको नामाकरण तथा अनावरण कार्यक्रम स्थगित भएको जनाएको छ ।
वीरगंज महानगरपालिकाले पिपरास्थित नवनिर्मित लिङ्क रोडलाई महात्मा गान्धी मार्ग नामाकरणका लागि बिहीबार मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट संयुक्त रुपमा उद्घाटन तथा अनावरण गराउने तय गरेको थियो ।
तर बुधबार महानगरले एक सूचना जारी गर्दै सडक नामाकरण अनावरण समारोह हालका लागि स्थगित गरिएको जनाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जारी गरेको सूचनामा महानगर भित्रको ऐतिहासिक पिपरा क्षेत्रमा अवस्थित पशुपतिनाथ मन्दिर , पिपरा मठ र लक्ष्मणवा पार्कको सौन्दर्यीकरण तथा संरक्षण गर्ने योजना अगाडि बढिरहेको सन्दर्भमा यस बारे अनेकथरीका दुष्प्रचार गर्ने प्रयास गरिएकोमा महानगरको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
माघ १९ गते बिहीबार वीरगंज १४ पिपरा क्षेत्रमा आयोजना हुने भनिएको सडक नामाकरण अनावरण कार्यक्रम हाललाई स्थगित गरिएको सूचनामा जनाइएको छ । वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले सडक अनावरण कार्यक्रमलाई दुष्प्रचार गरेर विवादित बनाउन खोजिएपछि भारतीय राजदूतलाई बोलाएर विवादित बनाउन उपयुक्त नदेखिएकाले हाललाई उक्त कार्यक्रम स्थगित गरिएको बताउनुभयो ।
उहाँले यस बारेमा सरोकारवालासँग परामर्श गरेर पुनः कार्यक्रम आयोजना गरिने समेत जानकारी दिनुभयो । यसैबीच सडकको नामाकरणको विषयलाई लिएर सामाजिक सञ्जाल लगायत विभिन्न सञ्चार माध्यममा समर्थन र विरोधका समाचार सार्वजनिक भएसँगै राजदूत नवीन श्रीवास्तव विवादमा पर्ने देखेर कार्यक्रममा आफू उपस्थित हुन नसक्ने जनाएपछि महानगरपालिकाले कार्यक्रम स्थगित गरेको जनाइएको छ ।









प्रतिक्रिया राख्नुहोस्