तपाईँ सुन्दै हुनुहुन्छः

आधारभूत तहपछि विद्यालय छाड्ने क्रम बढेकाले बालविवाह बढ्दो

जनकपुरधाम । विद्यार्थीहरूले बीचैमा विद्यालय छाड्ने क्रम बढेका कारण धनुषाका विभिन्न पालिकाहरूमा बालविवाहको घटनामा वृद्धि भएको छ ।

आसमान नेपालले धनुषाका पाँच वटा पालिकामा बालविवाह सहितका विद्यालय तहमा गरेको कार्यक्रमबाट सो तथ्य बाहिर आएको संस्थाका सल्लाहकार पूर्व प्रशासक गुरु सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा वक्ताहरूले बालविवाह रोक्न स्थानीय तह, प्रशासन तथा प्रदेश सरकारले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

संस्थाले धनुषाको शहिदनगर, सबैला, कमला, विदेह नगरपालिका तथा जनकनन्दनी गाउँपालिकामा बालविवाह न्यूनीकरणका लागि गरेको प्रयास पर्याप्त नभएको र यसमा पालिकाहरूको अझै सहयोग र साथ आवश्यक भएको बताएका थिए । पाँच पालिकामा आधारभूत तहमा ३६ हजार १ सय १६ विद्यार्थी भर्ना भएकोमा कक्षा ९ मा पुग्दा ५ हजारमा झर्ने गरेकाले ती पालिकाहरूमा बीचैमा विद्यालय छाड्नेहरूको सङ्ख्या निक्कै बढी रहेको जानकारी कार्यक्रमका संयोजक दिलीप यादवले दिनुभयो ।

पढ्दापढ्दै विद्यालय छाड्नेमध्ये १.३ प्रतिशत बालविवाह गर्ने गरेका छन् । कानूनले २० वर्ष विवाहका लागि उमेर तोकेका कारण भागी विवाह गर्ने प्रवृत्ति बढेका कारण छोरापट्टिका अभिभावहरूले विभिन्न मुद्दाहरू खेप्नुपरेको विभिन्न वडाका अध्यक्षहरूले जानकारी दिनुभएको थियो ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बालविवाह रोक्न सबैको साथ र सहयोग आवश्यक भएको बताउँदै शिक्षा क्षेत्रको सुधारका लागि पालिकाहरूले विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभयो ।

सबैला नगरपालिकाका प्रमुख कारीराम यादवले शिक्षामा सुधार नभएसम्म बालविवाह रोक्न कठिन हुने बताउँदै सामुदायिक विद्यालयप्रति अभिभावकले ध्यान नदिनु चिन्ताको विषय भएको सुनाउनुभयो ।

कमला नगरपालिकाका प्रमुख विषेश्वर यादवले शिक्षाको सुधारका लागि पालिका अगाडी बढेको बताउँदै आसमानको कामको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा शहिदनगर नगरपालिकाका उपप्रमुख सुनिता सिंह, मधेश प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव देव कुमारी खत्री, बेटी पढाऊँ, बेटी बचाऊँ कार्यक्रमका संयोजक प्रयंका यादवले प्रदेश सरकारले बालविवाह रोक्नका लागि गरेको प्रयास तथा कार्यक्रमबारे जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button