कृष्णगण्डकीबाट झिकिएको देवशिला अयोध्याका लागि प्रस्थान

जनकपुरधाम । नेपालको कृष्णगण्डकी नदीबाट झिकिएको देवशिलाको आज बिहान जानकी मन्दिरमा विशेष पूजा अर्चना गरि भारतको उत्तर प्रदेशको अयोध्याका लागि प्रस्थान गरेको छ । बाजागाजा तथा झाँकी सहित सो देव शिला जनकपुरधामबाट प्रस्थान गरेको छ ।
नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णय अनुसार कृष्णगण्डकीबाट झिकिएको सो देवशिलालाई जानकी मन्दिरमा शनिवार राति ल्याइएको थियो । आइतबार जानकी मन्दिरमा विशेष पूजा अर्चना पछि सर्वसाधारणलाई दर्शका लागि राखिएकोमा आज बिहान पुनः विशेष पूजापछि भारतको अयोध्याका लागि पठाइएको छ ।

भारतको अयोध्यामा बन्ने भगवान् रामको बन्न लागेको भव्य मन्दिरमा भगवान् रामको ७ फिटको मुख्य प्रतिमाको निर्माण गर्नका लागि ३२ टनको ठूलो देवशीला, लक्ष्मण तथा माता जानकीको प्रतिमा निर्माण गर्नका लागि १८ टनको मझौला देवशिला र भगवान् रामको वाल रामस्वरुप निर्माण गर्नका ४ टनको अर्को एक देवशिला तथा अन्य १ वटा शाना गरेर ४ वटा देवशिला धार्मिक यात्रा सहित अयोध्याका लागि प्रस्थान गरेको छ ।
नेपालबाट प्रदान गर्नका लागेको सो देवशिला हस्तान्तरणका लागि जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि तथा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह अयोध्या तर्फ प्रस्थान गर्न लाग्नु भएको छ ।

जनकपुरधामको परिक्रमा गर्दै देवशिला धनुषाको जटही नाका भएर आज प्रस्थान गरेको छ । देवशिला भारत प्रस्थान गर्न लाग्दा ठाउँ ठाउँमा सर्वसाधारण भक्तजनहरूले पुष्पवृष्टिका साथै पूजा अर्चना गरेका थिए । देवशिला जटही नाका भएर भारतको विहार प्रवेश गरेपछि भारतीय सुरक्षा कर्मी तथा भक्तजनहरूले स्वागत सहित भगवान् राम तथा माता सीताको जयजयकार गर्नु हुँदै स्वागत गर्नु भएको थियो ।
विश्वमा भगवान् विष्णुको स्वरूप मानिएको दुर्लभ शालिग्राम पाईने कृष्णगण्डकी नदी मात्र रहेको भारतको अयोध्यामा बन्ने राम मन्दिर निर्माण समितिले उक्त नदीबाट देवशिला पाउनका लागि जनकपुरधामको जानकी मन्दिर मार्फत नेपाल सरकार समक्ष माग भएपछि नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णयबाट सो देवशिला कृष्णगण्डकीवाट झिकिएर जानकी मन्दिरलाई उपलब्ध गराएका थिए ।
जानकी मन्दिरले उक्त देवशिला भारतको उत्तर प्रदेशका अयोध्यामा बन्ने राममन्दिर निर्माण समिति तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई देवशिला विशेष कार्यक्रमका बीचमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्