तपाईँ सुन्दै हुनुहुन्छः

मधेशमा पहारिलो घाम लागेसँगै राहत

वीरगंज । कठ्याङ्ग्रिँदो जाडो र शितलहरले प्रभावित मध्यतराइका बारा, पर्सा, रौतहटलगायतका जिल्लाहरूमा आज दिउँसो १२ः०० बजेपछि पहारिलो घाम लागेपछि राहत पुगेको छ ।

झण्डै दुई साता देखिको अत्यधिक जाडो तथा शितलहरले विशेष गरी विपन्न वर्ग तथा दलित समुदायका महिला बालबालिकाहरू बढी प्रभावित भएका छन् । जाडोबाट प्रभावितहरू समेत आज दिउँसो घरको छत तथा खुला स्थानमा निस्केर घाम तापेका छन् ।

घाम नलाग्दा घर घरमा लामो समयदेखि फोहर रहेका कपडाहरू धुन गृहणीहरुलाई भ्याई नभ्याई भएको छ । घाम लागेपछि वीरगंज लगायतका बजारमा समेत दैनिक उपभोग्य सामान खरिदका लागि उपभोक्ताहरूको भिड बढेको छ ।

त्यसैगरी जिल्लास्थित सरकारी कार्यालयहरूमा समेत सेवाग्राहीहरूको सङ्ख्या बढेको छ । बीरगंज महानगरपालिका सहित जिल्ला प्रशासन कार्यालय पर्सामा समेत सेवाग्राहीको सङ्ख्या एक साताको तुलनामा आज अत्यधिक रहेको जनाइएको छ । 

लामो समयदेखि घाम नलाग्दा मध्य तथा पूर्व तराईको जनजीवन कष्टकर बनेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button