लामो समयदेखि बन्द रहेका मोरङका छोटी भन्सार सञ्चालनमा आउन सकेन ।

विराटनगर । लामो समयदेखि बन्द रहेका मोरङ जिल्लाका छोटी भन्सार अहिले सम्म सञ्चालनमा आउन सकेका छैनन् ।
मधेश आन्दोलनको क्रममा बन्द भएका भन्सार कार्यालय अहिलेसम्म सञ्चालनमा आउन नसकेका हुन ।
मोरङमा ६ वटा छोटी भन्सार रहेकोमा धनपालथान गाउँपालिकास्थित मायागन्ज छोटी भन्सार अहिले सामान्य रुपमा सञ्चालनमा छ ।
रंगेलीस्थित चोप्राहामा करोडौँका लागतमा छोटी भन्सार कार्यालयको भवन निमार्ण गरिएको छ । डेढ वर्षअघि निमार्ण भएको भवन अहिले प्रयोग विहीन अवस्थामा छ ।
सरकारले ठुलो लगानीमा निमार्ण गरेको सो भवन अलपत्र अवस्थामा रहेकाले भन्सार सुचारु गर्न स्थानिय व्यवसायी कृतानन्द यादवले आग्रह गर्नुभयो । भारतको कुवाडी वजार लाई जोडने सो भन्सार कार्यालय सुचारु गर्न सके केही भएपनि राजश्व उठ्ने उहाँको भनाई छ ।
छोटी भन्सार सञ्चालनका लागि भारततर्फ सामान चेकजाँच गर्न भन्सारको व्यवस्था हुनुपर्ने, तथा छोटी भन्सारमा आवश्यक पर्ने प्लान क्वारेन्टाइन विषादी चेकजाँच तथा ल्याबको व्यवस्था साथै भन्सारमा सहज सेवाका लागी बैङ्किङ सेवा र सुरक्षा व्यवस्था आवश्यक छ हुन्छ । छोटी भन्सारमा त्यस्तो कुनै सुविधा भने छैन ।
मालवाहक सवारी साधन आवतजावतका लागि भन्सारसँग जोडिएका नेपाल भारत दुवै तर्फको सडक साँगुरा र गोरेटो अवस्थामा छन् दुवैतर्फ सडक विस्तार नहुँदा छोटी भन्सार सञ्चालन गर्न नसकिएको विराटनगर रानी भन्सारका सूचना अधिकृत रामचन्द्र ढुङ्गानाले बताउनुभयो ।
मायागन्जमा रहेको छोटी भन्सारले सामान्य रुपमा राजश्व उठाउँदै आएको छ । भन्सारले पाँच हजार बराबरको सामानको मात्र भन्सार काटन पाउने व्यवस्था भएपनि भन्सार काटन खासै व्यापारी नआउने गरेको भन्सार कार्यालयका कर्मचारी सञ्जीव कुमार
कर्णको भनाइ छ । सो भन्सार कार्यालयले मासिक ४० देखि ५० हजार मात्र राजश्व असुली गर्ने गरेको कर्णको भनाई छ ।
सीमा क्षेत्रमा रहेका छोटी भन्सार सञ्चालन आवश्यक छ वा छैन भन्ने विषयमा अर्थ मन्त्रालयले कार्यदल बनाएर अध्ययन गरिरहेको सूचना अधिकृत ढुङ्गानाले बताउनुभयो ।
कार्यदलको अध्ययन पछि आउने रिर्पोटको आधारमा भन्सार सञ्चालन हुने वा नहुने विषयमा टुङ्गो लाग्ने सूचना अधिकृत ढुङ्गानाले बताउनुभयो ।
लामो समयदेखि बन्द रहेका छोटी भन्सार सञ्चालन गर्न सके राजश्व उठ्ने र चोरी निकासी समेत नियन्त्रणमा आउने भएकाले बन्द रहेका भन्सार सुचारु गर्न स्थानीय सरकाले पहल गर्नुपर्ने व्यापारीहरूको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्