जाडो बढ्दै गएपछि बारा पर्साका विद्यालयमा जाडो बिदा थप
वीरगञ्ज । कठ्याङ्ग्रिँदो जाडो र चिसो बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले विद्यालयहरूको जाडो बिदा पुनः थप गरेको छ ।
चिसो र जाडोको कारण गत सोमबारदेखि शुक्रवार सम्म बन्द रहेका विद्यालयहरू आइतबारबाट खुल्नुपर्नेमा जाडो बढेपछि बिदा लम्ब्याएर पुस २७ गतेबाट विद्यालय सञ्चालन गर्न वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गरेको छ ।

जाडो बढै गएपछि बालबालिकालाई पठनपाठनमा समस्या भएका कारण महानगरपालिकाले जाडो बिदा लम्ब्याएको बीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिकाले पनि आज एक सूचना जारी गरी आगामी पुस २९ गतेसम्म विद्यालय बन्द रहने जनाएको छ भने बाराकै प्रसौनी गाउँपालिकाले माघ १ गतेसम्म विद्यालय बन्द हुने सूचना जारी गरेको छ ।

यसैगरी कठ्याङ्ग्रिँदो जाडो र शितलहरले पर्साको ग्रामीण क्षेत्रको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । जाडोका लागि वीरगञ्जको शहरी क्षेत्रमा दाउरा तथा कम्बल वितरण सामान्य रुपमा भए पनि पर्साको ग्रामीण क्षेत्रको अवस्था बेहाल रहेको प्रभावितहरूले गुनासो गरेका छन् ।

पर्साको धोबिनी, कालिका माई, जिराभवानी, सखुवाप्रसौनी, पटेर्वा सुगौली लगायतका क्षेत्रमा विपन्न वर्गका व्यक्तिहरू घुर तापेर बस्ने बाहेक अन्य कुनै विकल्प नभएको र स्थानीय पालिकाहरूले कुनै सहयोग नगरेको पीडितहरूले बताएका छन् ।
गृह मन्त्रालयले स्थानीय प्रशासन मार्फत विभिन्न सार्वजनिक चोकमा आगो बाल्न स्थानीय पालिकाहरूलाई दाउरासहित निर्देशन दिए पनि ग्रामीण क्षेत्रमा कुनै पालिकाले आगो नबालेको र न्यानो कपडा समेत वितरण नगर्दा गरिब विपन्न वर्गका व्यक्तिहरूको बेहाल भएको छ ।








प्रतिक्रिया राख्नुहोस्