तपाईँ सुन्दै हुनुहुन्छः

पार्किङ व्यवस्थापनका लागि महानगर र जग्गाधनीबीच सम्झौता

विराटनगर । विराटनगरको पार्किङ व्यवस्थापनका लागि विराटनगर महानगरपालिकाका स्थानीय जग्गा धनीबीच आज सम्झौता भएको छ ।

विराटनगर–७ महावीर रोड उत्तर र शनि मन्दिर दक्षिणबाट पूर्वमा रहेको  विराटनगर–७ निवासी शोभा मास्के प्रधान, केदारशक्ति मास्के र बद्रीशक्ति मास्केको नाममा रहेको ३ कठ्ठा ५ धुर जग्गा पार्किङका लागि महानगरपालिकाले जग्गाधनीसँग  सम्झौता गरेको हो । 

महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, सरसफाइ शाखा प्रमुख पुनम दाहाल र महानगर प्रहरी प्रमुख राजन पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो  ।

त्यस्तै, जग्गाधनीका तर्फबाट बद्रीशक्ति मास्के, शोभा मास्के प्रधान र केदारशक्ति मास्केले हस्ताक्षर गर्नुभयो । 

उहाँहरूले पार्किङका लागि महानगरलाई एक वर्षका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुभएको हो । 

पार्किङ क्षेत्रको सरसफाइसहितका सम्पूर्ण कार्यहरू महानगरले गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

त्यस्तै, महानगरले सःशुल्क पार्किङको व्यवस्थापन मिलाउनेछ । सम्झौता भङ्ग गर्नुपरेमा कम्तीमा दुई महिना अगाडि जानकारी गराउनुपर्नेछ । 

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानमा सहयोग गर्न महानगरका मेयर नागेश कोइरालाले महानगरवासीलाई आग्रह गर्दै आउनुभएको छ ।

प्रयोगविहीन खाली जग्गामा पार्किङ व्यवस्थापन गरेर बजार क्षेत्रको ट्राफिक समस्या समाधान गर्ने महानगरको योजना छ ।  योजनाअन्तर्गत महानगरले जलजला हल उत्तरमा रहेको खाली जग्गामा पनि पार्किङको व्यवस्थापन गरेको छ ।

त्यस्तै, अतिथि सदन दक्षिण–पूर्वमा पनि पार्किङका लागि तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिनुभयो  ।

यस्तै वर्षौंदेखि महानगरलाई तिर्नुपर्ने कर नतिरी खाली छाडेका जग्गामा पनि महानगरले पार्किङ व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसरी खाली छाडेका जग्गामा फोहोर थुपार्दा महानगरको सौन्दर्ययतामा ह्रास आएको छ । 

“अबदेखि खाली जग्गामा फोहोर थुपारे महानगरले सम्बन्धित जग्गाधनीलाई कारबाही गर्नेछ,” प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भन्नुभयो  “मेरो निजी जग्गा हो भनेर जथाभाबी फोहोर थुपान अव कसैले पाउँदैन ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button