जनचेतनासँगै जनतालाई न्यानो प्रदान गर्दै सप्तरीका सशस्त्र प्रहरी

सप्तरी । गर्मीको समयमा अत्यधिक गर्मीसँगै बर्षातको समयमा बाढी र डुबानबाट सधैँ कष्टकर जीवन झेल्न बाध्य हुँदै आएका तराईका जनतालाई जाडो मौसममा समेत कठ्याङ्ग्रिँदो चिसोले पिडा थप्ने गर्दछ ।
मौसम अनुसार हुने विभिन्न प्रकारका विपद् जोखिम न्यूनीकरणलाई लक्षित गर्दै सप्तरी जिल्लामा खटिएका सशस्त्र प्रहरीको इकाईहरूले विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
जसअन्तर्गत बाढी, पहिरो, आगलागी, भूकम्प, जस्ता विपद्जन्य घटनाहरूलाई लक्षित गरी समुदाय एवम् सामुदायिक विद्यालयहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ भने समय समयमा कृत्रिम अभ्यासहरू समेत गर्दै आइरहेको सशस्त्र प्रहरी बल, नेपाल नं.६ गण हेडक्वार्टर सप्तरीले जनाएको छ ।
विशेषगरी पुस महिना लागेपछि सुरु हुने शितलहरलाई लक्षित गरी सप्तरीको सशस्त्र प्रहरी बल, नेपाल नं.६ गण हेडक्वार्टर लगायत अन्य सशस्त्र प्रहरी जिल्लास्थित कार्यालयहरूले विभिन्न विद्यालयहरूमा शितलहरबाट बच्न सक्ने उपायहरू सिकाउँदै कक्षा सञ्चालन गरिसकेको सशस्त्र प्रहरी बल, नेपाल नं. ६ गण सप्तरीका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक नवीन सिंह राईले जानकारी दिनुभयो ।
उहाँले चिसो बढेसँगै जिल्लाका विभिन्न चोक तथा बस्तीहरूमा दाउरा बाली सर्वसाधारणलाई न्यानो राख्ने प्रयास पनि गरिराखेको बताउनुभयो ।

सप्तरीमा बिगत एक हप्तादेखि बाक्लो हुस्सु र सितलहरको कारण जन– जीवन कष्टकर बनेपछि सशस्त्र प्रहरीले दाउरा बाल्न सुरु गरेको हो ।
भूकम्प, बाढी, आगलागी लगायतका सम्भावित विपद् न्यूनीकरणमा सजगता अपनाउँदै बढ्दै गएको कोभिड भाइरसको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न सीमा नाकाहरूमा स्थानीय निकाय एवं अन्य सुरक्षा निकायलगायत सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गरी हेल्थ डेस्क सञ्चालनमा ल्याई कार्य गरिरहेको समेत प्रहरी नायव उपरीक्षक राईले बताउनुभयो ।
एक सातादेखि शुरु भएको शीतलहरका कारण सप्तरीमा चिसो बढेको छ ।
चिसोले स्कुले बालबालिका, ज्येष्ठ नागरिक र गरिब तथा विपन्न परिवार बढी प्रभावित भएका छन् । चिसो बढेसँगै जिल्लाका केही सरकारी विद्यालयमा बिदा दिइएको छ ।
जाडोका कारण बजारमा सर्वसाधारणको चहलपहल कम देखिएको छ । चिसो बढेपछि जिल्लाको मुख्य चोक चोकमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ ।








प्रतिक्रिया राख्नुहोस्