डडेल्धुरामा बन्ने भयो कभर्ड हल
डडेल्धुरा । जिल्ला सदरमुकाममा खेलकुदका लागी कभर्ड हल निर्माण हुने भएको छ । जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–४ को खलङ्गामा कभर्ड हल निर्माण हुने भएको हो ।

यस अघि सेमी कभर्ड हल भएको स्थानमै नयाँ कभर्ड हल निर्माण गरिन लागेको हो । सेमी कभर्ड हल २०७५ असार महिनामा वर्षातका कारण भत्किएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय डडेल्धुरा मार्फत नयाँ कभर्ड हल निर्माण गर्न लागिएको जिल्ला खेलकुद विकास समितिले जानकारी दिएको छ ।
जिल्ला खेलकुद विकास समिति डडेल्धुराका कार्यालय प्रमुख डम्बर बहादुर भण्डारीका अनुसार सामाजिक विकास कार्यालय डडेलधुराले कभर्ड हल निर्माणका लागि टेण्डर आह्वान गरेको छ ।
निर्माण हुन लागेको कभर्ड हल लाई सेमी कभर्ड हलको अवधारणामा निर्माण गर्न लागिएको हुँदा एथलेटिक्स बाहेकका सबै ईन्डोर खेलहरू कभर्ड हलमा सञ्चालन गर्न मिल्ने र जिल्ला खेलकुद विकास शाखाको कार्यालय पनि सोही कभर्ड हलमा व्यवस्थापन गर्ने योजना रहेको कार्यालय प्रमुख भण्डारी बताउनुभयो ।
दुई करोड १२ लाख रुपैयाँको कभर्ड हल निर्माण गर्न पहिलो चरणमा ५३ लाखको टेण्डर आह्वान गरिएको सूचनामा उल्लेख गरिएको छ । तीन वर्षमा निर्माण सम्पन्न गरिसक्ने योजना रहेको छ ।
२०४२ सालमा निर्माण भएको टुँडिखेल स्थित सेमी कभर्ड हल २०७५ असार ३१ मा जीर्ण भई भत्किएपछि डडेल्धुरा जिल्ला सदरमुकाम कभर्ड हलविहीन बनेको थियो ।
आर्थिक वर्ष २०७६/२०७७ मा राष्ट्रिय खेलकुद परिषद्को करिब १० लाख बजेटले कभर्ड हल निर्माणको काम सुरुआत गरिएको थियो । त्यसपछिका वर्षमा कुनै पनि मन्त्रालयबाट बजेट विनियोजन नहुँदा शुरुवात गरिएको निर्माणको काम रोकिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्