सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने (भिडियोसहित)

काठमाडौँ । सत्ता साझेदार दलको बैठकले नागरिकको अपेक्षा अनुसार काम गर्न सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउन सत्ता साझेदार दलको संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तोक्ने निर्णय समेत गरेको छ ।
बैठकमा सहभागी उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले न्यूनतम साझा कार्यक्रम ल्याउन नेकपा एमालेका अध्यक्ष ओलीको नेतृत्वमा सरकारमा रहेका दलहरूबाट एक/एक जना सदस्य रहने गरी समिति बनाउने निर्णय भएको जानकारी दिनुभयो ।
यस्तै बैठकमा मन्त्रिपरिषद् विस्तार एवं अन्य समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको उहाँले जानकारी दिनुभयो ।
उहाँले पाँच दिनभित्र सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी भएको पनि बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री दाहाल, नेकपा एमालेका अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुनुहुन्थ्यो ।
सत्ता साझेदार दलको बैठक भोलि पुनः बस्नेछ ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सात दलको समर्थन रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्