सांसद महेन्द्र राय यादवले भोलि शपथ लिनुहुने
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले शुक्रबार बिहान पद तथा गोपनियताको शपथ लिनुहुने भएको छ ।
उमेरसम्बन्धी प्राविधिक कारणबाट आज शपथ लिन नसकेपछि उहाँलाई सङ्घीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी गरेको छ ।
यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शुक्रबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउनुहुनेछ ।
सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई बिहीबार शपथ गराउने कार्यक्रम राखेको थियो ।
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा दुई सय ७० सांसद्ले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
यादवसँगै सांसद प्रेमबहादुर आले, माया राई र रामकुमार राई आज शपथ लिन अनुपस्थित हुनुभयो । आले पारिवारिक शोकमा र राई सुत्केरी भई अस्पतालमा हुनुहुन्छ ।
खोटाङबाट निर्वाचित सांसद रामकुमार राई हवाईजहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसक्नुभएको संसद् सचिवालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्