तपाईँ सुन्दै हुनुहुन्छः

बङ्गलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बर अफ कमर्सको पहल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरण बारे बङ्गलादेशको उद्योगी एवं व्यवसायीसँग आज छलफल गरेको छ । 

नेपाल भ्रमणमा रहेका बङ्गलादेशका उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकास मार्फत व्यावसायिक गतिविधि बढाउने सहमति भएको हो । नेपाल बङ्गलादेशबिचको कूटनीतिक सम्बन्ध ५० वर्ष पुरा भएको सम्बन्धमा दुई राष्ट्रबीचका व्यावसायिक प्रतिनिधिबीच, ऊर्जा, पर्यटन, उद्योग लगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको हो । चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भन्नुभयो, ‘नेपाल, भारत र बङ्गलादेशबिच ऊर्जा व्यापारका लागि त्रिपक्षीय सम्झौता भएको छ । यसको प्रभावकारी कार्यन्वयनसंगै लगानीका लागि हामी आव्हान गर्दछौ, ।’ 

बङ्गलादेशमा सडक सञ्जालसँगै हवाई सम्पर्क विस्तार गरेर नागरिकको तवरबाट पनि सम्बन्ध विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो । बङ्गलादेशसँग नेपालको व्यापार घाटा उच्च रहेको सन्दर्भमा अध्यक्ष मल्लले निर्यात सम्भावना भएका बस्तुहरूको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । नेपालले ऊर्जा व्यापार मार्फत व्यापार घाटा कम गर्न सक्ने सम्भावना भएकाले यसको सहजीकरण गर्न तथा विद्युतमा लगानीका लागि मल्लले आग्रह गर्नुभयो । 

बङ्गलादेशमा ऊर्जाको माग उच्च रहेको सन्दर्भमा नेपालबाट निर्यात गर्ने विभिन्न विकल्पमा दुई पक्षीय छलफल भएको थियो । नेपाल, बङ्गलादेश र भारतबीच ऊर्जा व्यापार सम्बन्धी सम्झौता भएपनि यसको व्यवहारिक कार्यान्वयन हुन सकेको छैन ।

चेम्बर अध्यक्ष मल्लले विद्युत् व्यापारको सहजिकरणसंगै नेपालमा जलविद्युतमा लगानी गर्न बङ्गलादेशका उद्योगी व्यवसायीसँग आग्रह गर्नुभयो । यस्तै नेपालमा साना तथा मझौला उद्योगमा समेत लगानीका लागि नेपाल खुला रहेको र लगानी सुरक्षणका लागि सरकारसँग आफूहरूले पहल गर्ने अध्यक्ष मल्लले बताउनुभयो । 

बङ्गलादेशको लालमोनिरहात चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष मोरोल ह्युमायुन कबिरले दुई देशको व्यापार सहजीकरणका लागि सडक पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिनुभयो । हवाईसँगै स्थलमार्गलाई समेत जोड्न दुवै राष्ट्रले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालमा ऊर्जा, पर्यटन क्षेत्रमा लगानीका लागि आफूहरू तयार रहेको तर नीतिगत सहजीकरणका लागि चेम्बरले पहल गर्नुपर्ने कबिरले बताउनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button