सिद्ध कुमाख गाउँपालिकाका सम्पूर्ण सेवा ठप्प
सल्यान । सल्यानको सिद्धकुमाख गाउँपालिकाका कर्मचारीले पालिकाबाट दिने सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प पारेका छन् ।

योजना अनुगमन गर्न गएका पालिकाका इन्जिनियरलाई योजनाको काम गर्दै आएका ठेकेदारका आफन्तले कुटपिट गरेको भन्दै कर्मचारीहरूले आइतबारदेखि सम्पूर्ण सेवा ठप्प पारेका हुन् ।

उनीहरूले विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नहुँदासम्म आफूहरू सेवामा नफर्किने जनाएका छन् । पालिका कार्यालयको कामकाज नै ठप्प भएपछि गाउँपालिकाका सर्वसाधारण सेवाबाट वञ्चित भएका छन् ।
गाउँपालिकाका इन्जिनियर विवेकमान बस्नेत र वडा प्राविधिक मेघा ओली वडा न २ को वडा कार्यालय भवनको ढलान कार्यको अनुगमन गर्न गएको समयमा ठेकेदार कम्पनीले मापदण्ड विपरीत काम गरिरहेको र मापदण्ड अनुसार काम गर्न आग्रह गर्दा ठेकेदार डम्बर तिरुवाका ३० वर्षीय छोरा सञ्जयकुमार तिरुवाले शनिबार दिउँसो उनीहरूमाथि कुटपिटका साथै दुर्व्यवहार गरेको कर्मचारीहरूको आरोप रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्