शैक्षिक सुधारका लागि पालिकाभरिका प्रधानाध्यापकलाई नेतृत्व विकास तालिम

अछाम । अछामको मेल्लेख गाउँपालिकाले विद्यालय व्यवस्थापन तथा गुणस्तर सुधारका लागि विभिन्न पहल गरिरहेको छ । पालिकाले अनुदानमा शिक्षक राख्ने, सबै विद्यालयका भवन पक्की बनाउने, टिनका छाना हटाउने लगायतका कार्य गरिरहेको छ । साथै विद्यालय प्रशासन व्यवस्थापनका लागि पालिकाका सबै विद्यालयका प्रधानध्यापकहरुका लागि ३ दिने नेतृत्व विकास तालिम समेत दिएको छ ।
विद्यालयको सामूहिक उद्देश्य प्राप्तिका लागि नेतृत्व अभ्यास कार्यान्वयन, शिक्षाको मापदण्ड पुरा गर्न, शिक्षाका गतिविधि आधुनिक परिवेशमा बदल्न, शिक्षाको गुणस्तर, प्रभावकारिताका लागि, प्रधानाध्यापकको जिम्मेवारी, वहनमा प्रतिबद्ध गराउन, साथै मेल्लेखका विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न शिक्षा नीतिमा भएका अधिकार प्राप्ति, शिक्षाको वृद्धि विकास, सुशासन कायम गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको पालिकाका अध्यक्ष ज्वालासिंह साउँदले बताउनुभयो ।

तालिम मेल्लेख गाउँपालिका शिक्षा ,युवा तथा खेलकुद शाखा को आयोजनामा भएको हो ।
जनता माविका प्रधानाध्यापक नृप बहादुर बि. क. को अध्यक्षतामा भएको समापनमा गाउँपालिका कार्यवाहक अध्यक्ष तिलक कडायतले उपलब्ध साधन र श्रोतको प्रयोग, परिचालन र प्रभावकारी व्यवस्थापनले शैक्षिक सुधारका लागि प्रधानाध्यापकको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

तालिममा सहभागी पिपलचौर माविका प्रधानाध्यापक उपेन्द्र शाहले तालिम निकै महत्त्वपूर्ण रहेको र आफूले सिकेका कुरा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भयो ।
मेल्लेखका ४२ वटै विद्यालयका प्रधानाध्यापककाे सहभागिता रहेको तालिमको सहजीकरण शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख लक्ष्मणराज गिरी र मेल्लेख गाउँपालिका शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख वीरेन्द्र खड्काले गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्