वीरगञ्ज महानगरपालिकाद्वारा अव्यवस्थित तार हटाउन ७ दिने अल्टिमेटम
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको कार्यालयले महानगरभित्र रहेका अव्यवस्थित तारहरू व्यवस्थापन गर्न ७ दिनको अल्टिमेटम सहितको सूचना जारी गरेको छ ।

महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णद्वारा जारी सूचनामा महानगर क्षेत्रभित्र मुख्य सडक र शाखा सडक छेउमा रहेका विद्युतीय पोल र टेलिकमका पोलहरूमा विभिन्न कम्पनीका नेट सेवा प्रदायक तथा अन्य संस्थाहरूले टाँगेका तारहरू अव्यवस्थित रहेको र यसले महानगरको सौन्दर्यतालाई नै कुरूप बनाएकोले ७ दिनभित्र त्यस्ता तारहरूको व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।
अव्यवस्थित तारका कारण नगर क्षेत्रमा दुर्घटना हुँदै आएको र आगामी दिनहरूमा पनि यसबाट अन्य मानवीय दुर्घटना हुन सक्ने हुँदा ती तारहरूको व्यवस्थापन गर्न सूचना जारी गरिएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताउनु भयो ।
सूचनाको बेवास्ता गर्नेलाई कडा कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्