तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा करिब ४६ प्रतिशतभन्दा बढी मत खस्यो, शान्तिपूर्ण रुपमा मतदान हुँदै

बागलुङ । प्रदेशसभा तथा प्रतिनिधिसभाका लागि बागलुङमा जारी निर्वाचनमा दिउसो ३ बजेसम्म ४६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जानकारी दिएको छ । 

जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञ प्रसाद रिजालले जिल्लाका केही मतदान केन्द्रमा ४० देखि केहीमा ५० प्रतिशतसम्म मत खसेको र समग्रमा ४६ प्रतिशत मत खसेको बताउनुभयो । 

स्थानीय तहको निर्वाचनमा जस्तो मतदाताको उत्साहजनक सहभागिता नभएकोले करिब ५५ प्रतिशत मत खस्ने आँकलन गरिएको छ । स्थानीय निर्वाचनमा ६७ प्रतिशत मत खसेको थियो ।

बागलुङमा दुई निर्वाचन क्षेत्रमा १ लाख ९२ हजार २ सय २७ मतदाता रहेका छन् ।  जसमध्ये ९८ हजार ६४३ महिला र ९३ हजार ५८४ पुरुष मतदाता रहेका छन् । जिल्लाभर १०६ मतदान स्थलका २ सय ३१ मतदान केन्द्रमा निर्वाचन भइरहेको छ ।

मध्यान्हसम्म जिल्लाभर शान्तिपूर्ण रुपमा निर्वाचन चलिरहेको छ । जिल्लामा १ हजार ८ सय ४७ कर्मचारी, ९ सय ३० स्वयंसेवक परिचालन गरिएको छ । 

त्यस्तै १ हजार १ सय म्यादी प्रहरी, ७ सय नेपाल प्रहरी र ७ सय सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button