दोलखाका मतदान केन्द्रहरूमा आयुक्त नेतृत्व टोलीको भ्रमण
दोलखा । भोलि आइतबार (मङ्सिर ४ गते) हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समग्र तयारीको विषयमा अनुगमन गर्न शनिबार निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारी, सचिव गोकर्णमणि दुवाडी, गृह सचिव विनोद प्रकाश सिंह, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल दोलखा आउनुभएको छ ।
दोलखाको अति संवेदनशील मतदान केन्द्र मानिएको बैतेश्वर गाउँपालिकाको गैरीमुदी र मिर्गे मतदान केन्द्र तथा तामाकोशी गाउँपालिकाको मतदान केन्द्रहरूको हवाई निरीक्षण गरेको आयुक्त भण्डारी लगायतको उच्च स्तरीय टोलीले मेलुङ गाउँपालिकाको वडा नम्बर ६ मेलुङ मतदान केन्द्रको भने स्थलगत अनुगमनको साथै आवश्यक निर्देशन समेत दिएको थियो ।
आयुक्त भण्डारी सहितको उच्च स्तरीय टोलीमा दोलखाको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश डिल्लीरत्न श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा समेत सहभागी हुनुभएको थियो ।
मेलुङ मतदान केन्द्रमा स्थलगत अनुगमनको क्रममा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारी लगायतले मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूलाई आवश्यक निर्देशन दिनुभएको र स्थानीयलाई निर्भरतापूर्वक मतदान गर्न तथा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोगको आग्रह गर्नुभएको मेलुङ गाउँपालिकाका प्रमुख हिरा थोकरले बताउनुभयो ।
दोलखा जिल्लामा ९४ वटा मतदान केन्द्र रहेकोमा २१ वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्र मानिएको छ । निर्वाचन प्रयोजनको लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी गरी २२ सय सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । निर्वाचनको लागि सुरक्षाकर्मी र कर्मचारीहरू समेत गरी तीन हजार सात सय ६६ जना परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो ।
जिल्लामा सुरक्षा अवस्था लगायत निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताउनुभयो ।
आयुक्त भण्डारी सहितको उच्च स्तरीय टोली दोलखा पछि रामेछाप र काभ्रेपलान्चोकका निर्वाचन अवस्थाबारे अनुगमन गरी राजधानी फर्किएको छ ।








प्रतिक्रिया राख्नुहोस्