निर्वाचनमा खटिने मतदान एवं सहायक अधिकृतलाई तालिम
डुम्रे । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार गरी दुई दिन तालिम प्रदान गरिएको छ । मतदान केन्द्रमा खटिने छ सय १० मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको हो ।

शनिबार निर्वाचन क्षेत्र नं १ मा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा तालिम प्रदान गरिसकिएको छ भने आज निर्वाचन क्षेत्र नं २ को भानुभक्त बहुमुखी क्याम्पसमा तालिम सञ्चालन गरिएको छ ।
प्रदेश निर्वाचन कार्यालय पोखराले आयोजना गरेको दुई दिने तालिमपछि कर्मचारीलाई निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाको एक सय ४२ वटा मतदानस्थलमा तीन सय पाँच मतदान केन्द्र रहेका छन् । चुनावमा गर्नुपर्ने सबै कामका विषयमा जानकारी दिएर उनीहरूलाई मतदान केन्द्रमा खटाइने जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
प्रत्यक्षतर्फ र समानुपातिक उम्मेदवारका लागि मत राख्ने तरिका, भीड नियन्त्रण, मसी लगाउने, नाम रुजु गर्ने, दोहोर्याएर मत हाल्न आएमा अपनाउनुपर्ने तरिका, मतदाताले गोप्य रूपमा मतदान गर्न पाउने मताधिकारलाई सुरक्षित तबरबाट प्रयोग गर्ने विषयमा प्रशिक्षण दिइएको उहाँले बताउनुभयो । ढकालका अनुसार मङ्सिर १ गते सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मी र कर्मचारी खट्नेछन् ।








प्रतिक्रिया राख्नुहोस्