सुनसरीमा मतदान गर्न सर्वसाधारण उत्साहित
सुनसरी । निर्वाचनको मिति नजिकिँदै गर्दा सुनसरीमा चुनावी माहोल तातिँदै गएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचन आउन ८ दिन बाँकी हुँदा सुनसरीमा चुनावी माहोल तातिँदै गएको हो । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुनसरीका राजनीतिक दलहरूले प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन् ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि चारवटा र प्रदेशसभा सदस्यका लागि आठवटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा यस पटक २०४ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएको हुँदा सदरमुकाम इनरुवासहित गाउँदेखि शहर चुनावमय बनेको इनरुवा नगरपालिकाका राजेन्द्रप्रसाद भण्डारीले बताउनुभयो ।

आम निर्वाचनको मिति नजिकिँदै गएपछि उम्मेदवारका साथै मतदान गर्ने मतदाताहरू पनि आफ्ना प्रतिनिधि छान्न उत्साहित देखिएको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८ का हसबुल मियाँ बताउँछन् । यस पटकको निर्वाचनमा सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एस र जनमोर्चा पार्टी मिलेर चुनावी मैदानमा छन् भने अर्कोतर्फ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसहितका राजनीतिक दलसँग चुनावी तालमेल गरी नेकपा एमाले चुनावमा होमिएका छन् ।
कोसी गाउँपालिका वडा नम्बर ५ का सराजुद्दिन आलमका अनुसार दिनहुँ जसो गाउँ गाउँमा उम्मेदवार,नेता कार्यकर्ता पुग्दा गाउनै अहिले चुनावमय बनेको छ । उनीहरू आ–आफ्ना पार्टीका एजेन्डा,कार्ययोजना बोकेर मतदातासमक्ष भोट माग्न आउने गर्छन् । निर्वाचनपछि जनताका समस्या,गाउँका विकास निर्माण,सडक,खानेपानी,शिक्षा,स्वास्थ्य,कृषि,सिचाइ लगायतका समस्याको समाधान गर्नसक्ने सक्षम प्रतिनिधि छनोट गर्न मतदाता उत्साहित देखिएको आलमको कथन छ ।
पहिला पहिलाको चुनावमा झुटा आश्वासन दिएर निर्वाचित हुने उम्मेदवारलाई नभई दिएको आश्वासन पूरा गर्ने उम्मेदवारलाई भोट हाल्ने पक्षमा आफू रहेको कोसी गाउँपालिका वडा नम्बर २ का ललित उराँव बताउँछन् ।







प्रतिक्रिया राख्नुहोस्