तपाईँ सुन्दै हुनुहुन्छः

निर्बाध प्रचारप्रसारको वातावरणका लागि आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्बाध रूपमा प्रचारप्रसार गर्न, गराउन निर्देशन दिएको छ ।

file photo

आयोगले उम्मेदवारका साथै निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदाताहरूलाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई नेपाल सरकार, गृह मन्त्रालय मार्फत निर्देशन दिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न जिल्लामा उम्मेदवारहरूले निर्बाध रूपले प्रचारप्रसार गर्ने कार्यमा अवरोध भएको भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित समाचार तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका विषयहरूप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा निर्वाचनमा उम्मेदवार भएका हरेक व्यक्तिलाई प्रतिस्पर्धाको समान अवसर प्राप्त हुन्छ भन्ने आम लोकतान्त्रिक विश्वासलाई कायम राख्नु आयोगको संवैधानिक जिम्मेवारी भएको उल्लेख छ ।

आवधिक निर्वाचनमा सार्वभौम अधिकारको अभिव्यक्ति मताधिकारमार्फत हुने हुँदा सार्वभौम मतदाता र आफ्नो लागि सार्वभौम जनताको मत र विश्वास माग गर्ने उम्मेदवार दुवै कानुनबमोजिम निर्वाचन प्रचारप्रसार गर्न स्वतन्त्र रहने भएकाले सार्वभौम मतदाता र उम्मेदवार दुवैलाई कानुनबमोजिम निर्वाचन प्रक्रियामा निर्बाध सहभागी हुने अक्षुण्ण अधिकार रहेको र यसलाई कुनै तवरबाट अवरोध गर्न, गराउन नहुने आयोगका सहायक प्रवक्ता भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button