तपाईँ सुन्दै हुनुहुन्छः

‘आचारसंहिता कडा कानुनभन्दा नैतिकता हो’

राजविराज । सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले आचारसंहिता कडा कानुनभन्दा पनि नैतिक आधार भएको बताउनुभएको छ ।

जिल्ला निर्वाचन कार्यालय सप्तरीले आज राजविराजमा आयोजना गरेको आचारसंहितासम्बन्धी अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचन आचारसंहिता उल्लङ्घनको घटनालाई सूक्ष्म ढङ्गले नियालिरहेको बताउनुभयो ।

आचारसंहिता पालनाकै विषयमा सर्वदलीय बैठक बसेर राजनीतिक दल तथा उम्मेदवारलाई पटक–पटक सचेत गराएको जानकारी दिँदै अधिकृत रावलले भन्नुभयो, “एकपटक फेरि सचेत गराउने हो, नमाने निर्वाचन आयोगमा लेखेर पठाउने हो ।” सरकारी कर्मचारीबाट आचारसंहिता उल्लङ्घन भइरहेको समाचार सञ्चार माध्यममा आएपछि आयोगमा तत्कालै जानकारी गराएको उहाँले बताउनुभयो ।

कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जिल्लामा आचारसंहिता उलङ्घन भइरहेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो । कतैबाट निर्वाचनलाई भाँड्न सक्ने खालको अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा निकाय सतर्क रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

आचारसंहिता अनुगमन अधिकृत शरणहरि लुइँटेलले जिल्लामा हुने घटनालाई अनुगमन गरेर नियन्त्रण गर्नुपर्ने बताउनुभयो । उहाँले केही मात्रामा भइरहेको आचारसंहिता नियन्त्रण गर्न सबैलाई आग्रह गर्नुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले कतैबाट निर्वाचन भाँड्ने प्रयास गरिए त्यसलाई निस्तेज पारेर भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी तयार रहेको बताउनुभयो ।

आम निर्वाचनका लागि एक हजार छ सय ३६ नेपाल प्रहरी, तीन हजार दुई सय ७८ म्यादी प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको भन्दै राजविराजमा रहेको विमानस्थलमा सुरक्षा व्यवस्था समेत कडा गरिएको बताउनुभयो । साथै निर्वाचनको आचारसंहिता र पत्रकारहरूले रिपोर्टिङ गर्ने विषयमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष श्रवणकुमार देवले जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button