तपाईँ सुन्दै हुनुहुन्छः

आचारसंहिता उल्लङ्घनको घटनालाई सूक्ष्म ढंगले नियालिरहेको छौँ : मुख्य निर्वाचन अधिकृत रावल

राजबिराज । सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले निर्वाचन आचारसंहिता उल्लङ्घनको घटनालाई सूक्ष्म ढंगले नियालिरहेको बताउनु भएको छ ।

जिल्ला निर्वाचन कार्यालय सप्तरीले आज आइतबार राजविराजमा आयोजना गरेको पत्रकारहरूसँगको निर्वाचन आचारसंहितासम्बन्धी अभिमुखीकरण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत रावलले आचारसंहिता पालनाकै विषयमा सर्वदलीय बैठक बसेर राजनीतिक दल तथा उम्मेदवारहरूलाई पटक–पटक सचेत गराएको जानकारी दिनु भयो ।  उहाँले भन्नुभयो, “एकपटक फेरि सचेत गराउने हो, नमाने निर्वाचन आयोगमा लेखेर पठाउने हो ।”

सरकारी कर्मचारीहरूबाट आचारसंहिता उल्लङ्घन भइरहेको समाचार सञ्चारमाध्यममा आएपछि आयोगमा तत्कालै जानकारी गराएको र उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोधिएको बताउनु भयो । पटक पटक सचेत गराउँदा पनि आचारसंहिता पालना नगर्ने दल तथा उम्मेदवारको उम्मेदवारीसमेत रद्द गर्न सक्ने अधिकार आयोगसँग सुरक्षित रहेकोले सचेत हुन आग्रह गर्नु भयो।

“आचारसंहिता कडा कानुनभन्दा पनि नैतिक अधारमा पालना गर्नुपर्ने पक्ष भएकोले निर्वाचन सकसपूर्ण नबनोस् भन्ने हामीले संयमता अपनाउने र समयानुकूल आक्रामकता देखाएर भए पनि स्वच्छ वातावरणमा निर्वाचन गराउन प्रयत्नशील छौँ,” रावलले भन्नुभयो।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले कतैबाट निर्वाचनलाई भाँड्न सक्ने खालको अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा निकाय सतर्क रहेको जानकारी गराउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button