तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा महानगरपालिकाद्वारा भूमिगत पार्किङ हटाउन सुरु

कास्की । पोखरा महानगरपालिकाले प्रयोजन विपरीत सञ्चालनमा रहेका भूमिगत पार्किङ खाली गर्न सुरु गरेको छ ।

खालि गर्न पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेको भन्दै महानगरले मङ्गलवारबाट बल प्रयोग गरी भूमिगत पार्किङ खाली गर्न थालेको हो ।

पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पटक पटक जानकारी गराउँदा पनि अटेर गरेपछि महानगरले डोजर लगाए खाली गर्न सुरु गरेको बताउनुभयो ।

“पटक पटक जानकारी गरायौँ, चाडपर्वको बेला भनेर धेरै समय दियौँ तर अटेर गरेपछि महानगरले बल प्रयोग गरेर मङ्गलवारबाट सुरु गरेका हौँ”, उहाँले भन्नुभयो ।

यसअघि, भूमिगत पार्किङसहित महानगरपालिकाबाट कर छुटको सुविधा लिएर निर्माण गरिएका व्यापारिक भवनहरूले ती पार्किङहरूलाई पार्किङको रूपमा नभई व्यापारिक प्रयोजनमा प्रयोग गरेको पाइएपछि महानगरपालिकाले पटक पटक हटाउन अनुरोध गरेको थियो ।

सूचनापछि धेरै जनाले भूमिगत पार्किङ खाली गरेर पार्किङकै रुपमा प्रयोग गरेको मेयर आचार्यले बताउनुभयो । “हाम्रो सूचनापछि धेरै जनाले हटाउनुभएको छ, लेकसाइडमा सबै पार्किङकै रुपमा प्रयोग भएका छन्, अन्य ठाउँमा अटेर गरेका केहीलाई पनि हामी बल प्रयोग गरेर हटाउँछौँ ”, मेयर आचार्यले भन्नुभयो ।

अधिकांशले महानगरपालिकाको अनुरोध बमोजिम पार्किङ खाली गरेको भए पनि अटेर गरी व्यवसाय सञ्चालन गरिरहेका कतिपय भवनहरूमा महानगरपालिकाले मङ्गलवार डोजर नै चलाएको हो ।

महानगरले अटेर गरेको भन्दै पोखराको चिप्लेढुंगा स्थित आरके बिल्डिङ, विशाल बजार, महेन्द्र पुल स्थित गरिमा विकास बैङ्क रहेको भवन लगायत स्थानहरूमा महानगरपालिकाले डोजर चलाएको हो । सेलवेज टावरको बेसमेन्टमा सञ्चालनमा रहेको बिगबजार भने स्थानान्तरणको क्रममा रहेकाले सोका लागि ७२ घण्टाको अल्टिमेटम दिइएको छ ।


महानगरपालिका क्षेत्रभित्र २ सय ५० को हाराहारीमा अन्डरग्राउन्ड पार्किङसहितका भवनहरू निर्माण भएका छन् । ती पार्किङलाई पार्किङ कै रूपमा प्रयोग गरिए सडकमा हुने अव्यवस्थित पार्किङ र ट्राफिक जामको समस्यामा कमी आउने विश्वास महानगरले लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button