मकवानपुरमा निर्वाचनको तयारी तीव्र
मकवानपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा तयारी तीव्र पारिएको छ ।
निर्वाचन आउन अब १८ दिन बाँकी हुँदा जिल्लामा निर्वाचनका लागि निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले तयारी तीव्र पारेको छ ।
निर्वाचनका लागि अहिले मकवानपुरमा मतदान केन्द्रमा खटिने कर्मचारी नियुक्त गर्ने तयारी भइरहेको छ भने मतदान केन्द्र र सुरक्षा व्यवस्था तथा मतदाता शिक्षा सञ्चालनका लागि तयारी तीव्र पारिएको निर्वाचन आयोगले जनाएको छ ।
मकवानपुरका दुई निर्वाचन क्षेत्रमा ३ सय ६४ मतदान केन्द्र रहेको छ ।
मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ मा १ सय ६९ मतदान केन्द्र र क्षेत्र नम्बर २ मा १ सय ९२ मतदान केन्द्र रहेको छ ।
३ सय ६४ मतदान केन्द्रमा करिब ३ हजार कर्मचारी खटिने बागमती प्रदेश निर्वाचन आयोगका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो ।
जिल्लाका मतदान केन्द्रहरूमा खटिने कर्मचारीहरू कार्तिक २३ गते बुधवारसम्ममा नियुक्त गरिने उहाँले बताउनुभयो । निर्वाचनका लागि मकवानपुरमा अहिले समानुपातिकतर्फका मतपत्र आइसकेको पोखरेलले बताउनुभयो ।
मकवानपुरमा ३ लाख ३२ हजार समानुपातिकतर्फका मतपत्र आएको छ । मकवानपुर क्षेत्र १ का लागि १ लाख ६६ हजार र क्षेत्र २ का लागि १ लाख ६६ हजार मतपत्र आएको हो । यस पटकको निर्वाचनमा ४ प्रकारका मतपत्र आएको उहाँले बताउनुभयो । अब प्रत्यक्षतर्फका मतपत्र र मेडिकल सामग्रीहरु आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
मकवानपुरमा अहिले ३ लाख ७ सय ३३ मतदाता रहेका छन् । जसमा प्रतिनिधितर्फ मकवानपुर क्षेत्र नम्बर १ मा १ लाख ५० हजार १ सय ५५ जना र मकवानपुर क्षेत्र नम्बर २ मा १ लाख ५० हजार ५ सय ७८ मतदाता रहेका छन् ।
प्रदेश क्षेत्रतर्फ क्षेत्र १ को (क) मा ७७ हजार ९ सय ८९ जना र (ख) मा ७२ हजार १ सय ६६ जना मतदाता रहेका छन् ।
आगामी निर्वाचनका लागि मकवानपुरमा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा १६ जना उम्मेदवार रहेका छन् ।
यस्तै क्षेत्र नम्बर २ मा १० जनाको उम्मेदवार रहेका छन् । प्रदेश सभातर्फ क्षेत्र १ को (क) मा १० जना र (ख) मा १५ जना उम्मेदवार रहेका छन् । क्षेत्र २ को (क) मा ८ जना र (ख) मा १० जना उम्मेदवार रहेका छन् ।
यस्तै क्षेत्र नम्बर २ को (क) मा ८३ हजार ९९ जना र २ को (ख) मा ६७ हजार ४ सय ६९ जना मतदाता रहेका छन् । जिल्लामा ५ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।
प्रतिनिधितर्फ मकवानपुर क्षेत्र १ मा बागमती गाउँपालिका, बकैया गाउँपालिका, हेटौँडा उपमहानगरपालिकाका वडा क्रमशः २, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५, १६, १७ र १८, मकवानपुरगढी गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडा पर्दछन् ।
यस्तै मकवानपुर क्षेत्र २ मा इन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका, भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिका, हेटौँडा उपमहानगरपालिकाका १, ३, ११ र १९, मकवानपुरगढी गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडा पर्दछन् ।








प्रतिक्रिया राख्नुहोस्