तपाईँ सुन्दै हुनुहुन्छः

छठ पूजाका लागि व्रत बस्ने स्थानको व्यवस्था

लेखनाथ। छठ पूजालाई पोखरामा पनि व्यवस्था गरिएको छ । छठ पूजा गरिने स्थानहरू केदारेश्वर महादेवमणि मन्दिर नजिकैको फेवाताल किनार, पोखराको नदीपुरस्थित नारायणस्थानको सेतीनदी घाट, पोखराकै कालीखोला किनार र भद्रकाली मन्दिर नजिकैको माछा पोखरीमा पूजा र स्नान गर्ने भक्तजनलाई व्यवस्थित गरिएको हो ।

छठ पर्व पूजा समितिका अध्यक्ष रामआधारप्रसाद गुप्ताले पूजा, स्नान तथा राति जाग्राम बस्दा महिलाहरूले दुःख, कष्ट भोग्नु परेकाले खोला तथा तालका घाटलाई व्यवस्थित गरिएको जानकारी दिनुभयो । उहाँले तराई तथा भारतीय मूलका हिन्दुहरूले पोखरामा ३५ वर्षदेखि छठ पर्व मनाउँदै आएका र छठ पर्व मनाउनेको सङ्ख्या बर्सेनि वृद्धि भएकै कारण नदी तथा तालका घाटलाई यस वर्षदेखि व्यवस्थित गर्न लागिएको बताउनुभयो ।

पोखराका कालीखोला, माछापोखरी, फेवाताल र नारायणस्थानको सेती नदी किनारका घाटहरूमा छठ पूजा गर्नेको सङ्ख्या चार हजार पुग्ने अध्यक्ष गुप्ताले जानकारी दिनुभयो । यस पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिने गरिन्छ ।

यस पर्वमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर पकाई प्रसादका रुपमा आफू र परिवारका अन्य सदस्यलाई ख्वाउने चलन छ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ्य दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिई पूजा विसर्जन गरिने जानकारी पूजा समितिका सचिव गोरखनाथ जैसवालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button