राजनैतिक स्थायित्व, विकास र समृद्धिका लागि पाँच दलीय गठबन्धन आवश्यक : प्रधानमन्त्री देउवा

धनगढी । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजनैतिक स्थायित्व, विकास र समृद्धिका लागि पाँच दलीय गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।
आज धनगढीमा आज पाँच दलीय गठबन्धनमा आबद्ध दलहरूको सुदूरपश्चिम प्रदेश स्तरीय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले संविधान, लोकतन्त्र, सङ्घीयताको रक्षा गर्न गठबन्धन आवश्यक रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले लामो राजनैतिक आन्दोलनपछि प्राप्त संघीय शासन प्रणाली व्यवस्थालाई जोगाउन गठबन्धन बनेको उल्लेख गर्नुहुँदै चुनावपछि गठबन्धन सरकार बनेर राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा नयाँ अवसर प्राप्त हुने बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशका लागि संघीय व्यवस्था अपरिहार्य रहेको छ भन्नुहुँदै प्रधानमन्त्री देउवाले यो प्रदेशबाट सबैभन्दा बढी गठबन्धनको अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले मङ्सिर ४ गते हुने निर्वाचनलाई केन्द्रित गरि चुनावी अभियानमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
भेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मङ्सिर ४ गतेको निर्वाचन अग्रगमन र प्रतिगमनका बिचको महासङ्ग्राम भएको बताउनुभयो ।
उहाँले पाँच दलको स्प्रिट एक छ, गठबन्धन साथमा छौ भन्ने सन्देश दिन संयुक्त भेला आयोजना गरिएको बताउनुभयो ।
एकातिर सङ्घीयतालाई उल्टाउने, संविधानलाई कमजोर पार्नेहरूका बिच गठबन्धन भएको छ भने अर्कोतिर संविधान, लोकतन्त्र, गणतन्त्र, सङ्घीयताको रक्षा गर्ने मूलभूत उद्देश्य लिएको पाँच दलीय गठबन्धन रहेको उल्लेख गर्नुहुँदै प्रचण्डले निर्वाचनपछि मुलुक विकास, समृद्धि, सुशासन, आर्थिक समृद्धितिर अघि बढ्ने बताउनुभयो ।
उहाँले राजनीतिलाई दिगो बनाउन आर्थिक समृद्धि जरुरी रहेकोले गठबन्धन सरकारले त्यसलाई प्राथमिकता दिएर अघि बढिरहेको बताउनुभयो ।

यसैगरी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय एकता, सहकार्य, साझा सङ्कल्प आम नेता कार्यकर्ताको माझमा राख्न संयुक्त चुनावी अभियान अघि बढिरहेको बताउनुभयो ।
उहाँले संविधान, लोकतन्त्र, देश र जनताको रक्षाका लागि पवित्र उद्देश्य राखेर गठबन्धन बनेको बताउनुभयो ।
अध्यक्ष नेपालले मुलुकमा भएका ऐतिहासिक परिवर्तनका बेला काँग्रेस र कम्युनिष्ट एकताका साथ अघि बढेको उल्लेख गर्नुहुँदै प्रतिगमनको खतरा अझै रहेकाले सतर्क रहनुपर्ने बताउनुभयो ।
उहाँले तत्कालीन नेकपा सरकारले जनचाहाना अनुरुप काम नगरेपछि आफूले विद्रोह गरेर मुलुकलाई राजनैतिक अस्थिरताबाट जोगाएको दाबी गर्नुभयो ।
भेलामा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो चुनावी अभियान मात्र नभई राष्ट्रलाई सङ्कटबाट जोगाउने, परिवर्तनलाई रक्षा गर्ने महाअभियान भएको बताउनुभयो ।
उहाँले जनताको हातमा आएको अधिकारलाई दरबारमा बुझाउने प्रपञ्च भइरहेको दाबी गर्दै गठबन्धनले जितेमा राजनैतिक क्रान्तिको रक्षा गर्दै आर्थिक र सामाजिक क्रान्ति अघि बढाइने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन निर्माण भएको बताउनुभयो ।
नेकपा सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पाँच दलीय गठबन्धन दलका अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्