दुई दिनदेखि बेपत्ता झापाका दुई बालकको भारतको इटाहारबाट उद्धार

भद्रपुर, झापा । पब्जी खेल्ने साथीलाई भेट्न भारतको राजस्थान जान लागेका झापा भद्रपुरका दुई बालकलाई भारतीय प्रहरीले उद्धार गरेको छ ।
भद्रपुर नगरपालिका–१० काफ्ले टोल निवासी– १३ वर्षीय बालक सौगात काफ्ले र ११ वर्षीय प्रयास दाहाल घरमा कसैलाई केही जानकारी नगराई सोमबार दिउँसो बेपत्ता भएका थिए । उनीहरू भद्रपुर–गलगलिया सीमा नाका हुँदै भारत गएका उनीहरुलाई पश्चिम बङ्गालको उत्तर दिनाजपुरस्थित इटाहारमा भारतीय प्रहरीले बुधबार उद्धार गरी त्यहीँको सुधार गृह चाइल्ड लाइनलाई जिम्मा लगाएको थाहा भएको छ ।
सोमबार अबेरसम्म घर नफर्किएपछि परिवारले उनीहरूको खोजी सुरु गरेको थियो । परिवारले उनीहरूको तस्बिर सामाजिक सञ्जालमा राखिएको र भद्रपुर र गलगलिया प्रहरीलाई समेत जानकारी गराएको थियो ।
यसैक्रममा बुधबार इटाहारको सडकमा दुई बालक घुमिरहेको देखेपछि प्रसारित सूचनाको आधारमा भारतीय प्रहरीले उनीहरूको उद्धार गरेको बताइएको छ ।
भारतमा बालक भेटिएको सूचना पाएपछि दुवै बालकका अभिभावक उनीहरूलाई लिन इटाहार गएका छन् । दुबै जना पब्जी खेल्ने साथीलाई भेट्न भारतको राजस्थान जान लागेको थाहा पाएको सौगातका धनबहादुर काफ्लेलेले बताउनुभयो । बालकहरू फेला परे पनि भारतीय प्रहरीले परिवारको जिम्मा लगाउन आनाकानी गरिरहेको बताउँदै धनबहादुरले भतिजहरूलाई नेपाल ल्याइदिन सम्बन्धित पक्षले पहल गरिदिनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्