बाढी पहिरोबाट भएको घटनाप्रति प्रदेश प्रमुख परियारद्वारा दुःख व्यक्त
सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरोमा परी मृत्यु र बेपत्ता भएकाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
एक शोक वक्तव्य जारी गर्दै उहाँले प्रदेशका विभिन्न जिल्लामा भएको विपद्का घटनाले आफूलाई दुःखी तुल्याएको बताउनुभएको हो ।
वक्तव्यमा उहाँले भन्नुभएको छ, “यस वर्ष अविरल बेमौसमी बर्सातका कारण कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, दैलेख, सल्यान, सुर्खेत लगायत देशैभर मानवीय क्षति सँगसँगै पाकिसकेका बालीनाली लगायत ठूलो भौतिक संरचनाहरूमा ठूलो क्षति पुर्याएको छ । कर्णालीमा बर्सेनि हुने यस्ता घटनाले मलाई अत्यन्त दुखित तुल्याएको छ ।”
कालिकोट तिलागुफा–४ राँचुल्ली गाउँमा मलामी गएकाहरूमध्ये पहिरो र बाढीमा परी वडाध्यक्षसहित १३ जनाको मृत्यु भएकोप्रति उहाँले दुःख व्यक्त गर्नुभएको छ । साथै प्रदेश प्रमुख परियारले मुगु, हुम्ला, दैलेख, सल्यान लगायतका जिल्लामा बाढी पहिरोमा परी भएको मृत्युबाट आफूलाई स्तब्ध बनाएको बताउनुभएको छ ।
प्रदेश प्रमुख परियारले दुःखको यस घडीमा तत्काल उद्धार, राहत तथा पुनः स्थापना एवं जोखिममा परेका बस्तीको स्थानान्तरणमा तीनै तहका सरकार तथा सम्बद्ध सबै पक्षको ध्यानाकर्षण समेत गराउनुभएको छ ।
रासस







प्रतिक्रिया राख्नुहोस्