तपाईँ सुन्दै हुनुहुन्छः

नवौं राष्ट्रिय खेलकुद, महिला क्रिकेट: मधेश प्रदेशको विजयी शुरुवात

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी शुरुवात गरेको छ । पोखरा रङ्गशालामा आइतबार भएको उद्घाटन खेलमा मधेशले आयोजक गण्डकी प्रदेशलाई ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

मधेश प्रदेशले दिएको ७८ रनको लक्ष्य पछ्याएको आयोजक गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमै समेटिन पुग्यो । गण्डकी प्रदेशका लागि शिला क्षत्रीले जोडेको १० रन नै सर्वाधिक रन बन्न पुग्यो । अन्य कुनै पनि व्याट्सउमनले दोहोरो आँकडाको योगफल जोडन सकेनन् ।

मधेश प्रदेशकी अनुराधा चौधरीले आफ्नो स्पेलमा १ मेडन राख्दै ८ रन खर्चेर ४ विकेट लिइन् । कविता गौतम र शान्ती चौधरीले समान २ विकेट लिए । सन्तोषी चौधरीले एक विकेट लिइन् ।

त्यसअघि पोखरा रगंशालाको क्रिकेट स्टेडियममा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ७७ रनको योगफल तयार पारेको थियो ।

खेलमा मधेशकी अनुराधा चौधरी प्लेयर अफ द म्याच भइन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बलिङ, ब्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button