तपाईँ सुन्दै हुनुहुन्छः

झन्डै छ वर्षमा पनि सकिएन चार किमी सडक निर्माण

भरतपुर I झन्डै छ वर्ष हुँदा पनि भरतपुरको ४।४ किलोमिटर लामो बाइपास सडक निर्माण सम्पन्न हुन सकेको छैन । सरकारी निकाय र ठेकेदारको लापरबाहीका कारण भरतपुर महानगरपालिकाको मुख्य क्षेत्र पर्ने केन्द्रीय बसपार्कदेखि आँपटारीसम्मको सडक निर्माणको काम सुस्त भएको हो । सडक, विद्युत् र खानेपानीबीच समन्वय नहुँदा सडक विस्तारको काममा झन् ढिलासुस्ती भएको छ । 

सुरुआतका चरणमा रूख कटान, विद्युत्को पोल र खानेपानीको पाइप नसार्दा सडकखण्ड विस्तारमा समस्या भएको थियो । त्यसमाथि मूल्य वृद्धिलगायत विभिन्न बहाना बनाएर ठेकेदारले सडक निर्माणमा झनै ढिलासुस्ती गर्दै आएका छन् ।

सो सडकखण्डमा बनाइसकेको कालोपत्रे भत्किन सुरु भइसकेको छ । ठाउँ–ठाउँमा बनेका खाल्डाले दुर्घटनाको जोखिम बढेको छ । भरतपुर महानगरपालिका–११ का स्थानीय महेन्द्र पाण्डेले सडक निर्माणमा चरम लापरबाही गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “यतिका वर्ष हुँदा पनि न काम गुणस्तरको छ, न समयमै सम्पन्न भएको छ ।” उहाँले सम्बन्धित निकायलाई पटक पटक अनुरोध गर्दा पनि समयमै सडक निर्माण गर्नेतर्फ ध्यान नदिएको बताउनुभयो ।  बाइपास सडक विस्तारको काम दुई प्याकेजमा गरिएको छ । केन्द्रीय बसपार्क चोकदेखि विशाल चोकसम्मको जिम्मा गौरी पार्वती निर्माण सेवा र विशाल चोकदेखि आँपटारीसम्मको जिम्मा रायमाझी पशुपति जेभीले पाएका हुन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button