तपाईँ सुन्दै हुनुहुन्छः

नवौँ राष्ट्रिय खेलकुद : १० खेलका २३ ‘विधा’ रद्द

कास्की । गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न १० खेलका २३ विधा रद्द गरिएको छ । 

प्रतियोगिताका लागि कम्तीमा चार वटा टोलीको सहभागिता अनिवार्य हुने र सो नभए खेल रद्द हुने प्रावधानअनुसार केही खेलका विधा नहुने भएको हो ।

गल्फ आर्चरी, प्याराग्लाइडिङ, पौडी, भारोत्तोलन, सुटिङ, जिमन्याष्टिक स्क्वास, सफ्ट टेनिस, जुडोका केही इभेन्ट नहुने प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । 

धेरैजसो इभेन्टमा महिला खेलाडीको सहभागिता नभएपछि रद्द गरिएको हो । सबैभन्दा बढी आर्चरीमा सात इभेन्ट रद्द गरिएको छ । त्यसैगरी अन्य खेलको एकदेखि तीन इभेन्टसम्म नहुने सम्भावना रहेको बताइन्छ ।

आर्चरीका सात वटा इभेन्टहरुमा चार टोलीको सहभागिता नभएकाले खेल नहुने भएको जनाइएको छ । आर्चरीमा पुरुष कम्पाउन्ड टोली, मिक्स टोली कम्पाउन्ड, मिक्स टोली रिकर्भ, मिक्स टोली स्ट्यान्डर्ड, महिला कम्पाउन्ड टोली, महिला रिकर्भ टोली र महिला स्ट्यान्डर्ड टोलीका खेलहरू नहुने प्रतियोगिता प्राविधिक समितिले जनाएको छ ।

आर्चरीमा कूल १५ पदक बाट मात्रै सात वटा स्वर्ण पदक घटेको छ । आर्चरीमा कूल १५ स्वर्ण पदकका लागि खेल हुने यसअघि जनाइएको आर्चरी सङ्घका सचिव योगेन्द्र शेरचनले बताउनुभयो । आर्चरीका केही इभेन्ट रद्द भएको जानकारी प्राप्त भएको बताउँदै उहाँले यस बारेमा राखेपमा छलफल गरिने बताउनुभयो ।

यसैगरी प्याराग्लाइडिङ र स्विमिङको तीन/तीन, जिम्न्याष्टिक, भारोत्तोलन र सुटिङको दुई÷दुई, गल्फ, जुडो, सफ्ट टेनिस र स्क्वायसका एक÷एक इभेन्टहरुका खेल नहुने भएका छन् ।

गल्फतर्फ महिला इन्डिभिजुयल, जिम्न्याष्टिक पुरुष पोमल हर्ष (अल राउन्ड इभेन्ट), जिम्न्याष्टिक महिला भल्टिङ टेबल ९अल राउन्ड इभेन्ट०, जुडो मिक्स टिम इभेन्ट, प्याराग्लाइडिङ महिला एक्युरेसी र क्रसकन्ट्री टिम इभेन्ट तथा महिला क्रसकन्ट्री एकलका इभेन्टहरु नहुने जनाइएको छ ।

त्यसैगरी सुटिङ मिक्स टिम १० मिटर इएर पिस्तोल, १० मिटर इएर राइफल मिक्स पुरुष टिम, सफ्ट टेनिसतर्फ महिला टिम, स्क्वायसतर्फ महिला सिङ्गल्स, पौडीतर्फ महिला बटरफ्लाई २०० मिटर, महिला ४०० मिटर मिड्ले, भारोत्तोलनतर्फ १०९ केजी तौल पुरुष र महिला ८७ केजी माथिका इभेन्टहरु नहुने जनाइएको छ ।

राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिताका लागि गण्डकी प्रदेशले सबैभन्दा बढी खेलाडी दर्ता गरेको छ । 

गण्डकीले ३६ वटै खेलमा सहभागिता जनाउने प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button