तपाईँ सुन्दै हुनुहुन्छः

महानगरपालिका प्रमुखद्वारा सञ्चार ग्रामको अवलोकन एवं निरीक्षण

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आज विराटनगर ४ खार्जीस्थित ताराणी प्रसाद कोइराला स्मृति सञ्चार ग्रामको अवलोकन एवं निरीक्षण गर्नुभएको छ ।

सो अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले सञ्चार ग्रामको हालसम्मको कामको प्रगति तथा त्यसको उद्देश्यबारे महानगरपालिका प्रमुखलाई जानकारी गराउनुभएको थियो ।

सञ्चार ग्रामको निरीक्षण एवं अवलोकनपछि छलफल कार्यक्रममा महानगरापालिका प्रमुख कोइरालाले ताराणी प्रसाद कोइरालाको योगदानको स्मरण गर्दै सञ्चार ग्राममा सञ्चालनमा आएको महानगर एफएम, सञ्चारकर्मीहरूको तालिम प्रशिक्षण, गीत सङ्गीत उत्पादन, खोज अनुसन्धान, सबै खालको सञ्चारकर्मीसँगको अन्तरक्रिया तथा सञ्चार ग्रामले आगामी दिनमा सम्पन्न गर्ने इ लाइब्रेरी, रेडियो म्युजियम जस्ता विषयलाई यथाशीघ्र कार्यान्वयन गर्ने विषयमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले सञ्चार ग्रामको जग्गा, भवन हस्तान्तरण तथा निकट भविष्यमा सञ्चार ग्रामलाई पूर्ण रुपमा सञ्चालन गर्न सरोकारवालाहरूबिच समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश न १ का अध्यक्ष लिला वल्लभ घिमिरे, सञ्चार ग्राम कार्यालय प्रमुख बलराम चौधरी, महानगरपालिका प्रमुखका प्रेस संयोजक मीनकुमार नवोदित श्रेष्ठ, महानगरपालिकाका प्रमुखका राजनीतिक सल्लाहकार डिकप्रसाद घिमिरे तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button