तपाईँ सुन्दै हुनुहुन्छः

‘लैङ्गिक हिंसा कम गर्न न्यायिक समिति सक्रिय हुन जरुरी’

जनकपुरधाम । उपप्रमुखको नेतृत्वमा प्रत्येक पालिकामा रहेको न्यायिक समितिले राम्रोसँग काम गरेको खण्डमा लैङ्गिक हिंसामा कमी आउने जनकपुरधाममा आज आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले जोड दिनुभएको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाको राजर्षि सभाकक्षमा आयोजना गरिएको “लैङ्गिक हिंसा विरुद्ध प्रहरी र स्थानीय सरकार” विषयक कार्यक्रममा सहभागीहरूले न्यायिक समितिले पीडितको पक्षमा निष्पक्ष रुपमा कामकाज गर्नुपर्ने जोड दिनुभएको थियो ।

स्थानीय तहका जनप्रतिनिधिले यस्ता विषयमा राम्रोसँग काम नगरेका कारणले स्थानीय प्रहरी कार्यालयमा पीडितहरू न्यायका लागि जान बाध्य रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँले न्यायिक समितिले राम्रोसँग काम गरेको खण्डमा प्रहरीमा लाग्ने भिडमा पनि कमी आउने र प्रहरीलाई शान्ति सुरक्षा स्थापनाका लागि सहयोग पुग्ने बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले महिला हिंसा कम गर्नका लागि उपप्रमुखहरूको नेतृत्वमा रहेको न्यायिक समितिको महत्त्वपूर्ण भूमिका रहने भएकाले सक्रिय हुनका लागि आग्रह गर्नुभयो । उहाँले जनकपुरधाम उपमहानगरपालिका लैङ्गिक हिंसा कम गर्न तयार भएको बताउनुभयो ।

कार्यक्रममा शहिदनगर नगरपालिकाका उपप्रमुख सुनिता कुमारी सिंहले महिला हिंसा न्यून गर्न आफूले नगरमा अभियान नै चलाउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button