रोजगारमूलक शिक्षामा जोड दिनुपर्छ: कुलपति गुरुङ
पोखरा । गण्डकी विश्व विद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले रोजगारमूलक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।
कुलपति प्रा.डा. गुरुङले पोखरा २७ तालचोमा रहेको त्रिवेणी इन्टरनेशनल कलेजको सातौँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै शिक्षण संस्थाहरूले नवीनतम शैक्षिक विधि तथा प्रविधिको प्रयोग गरी विद्यार्थीहरूलाई रोजगारमूलक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।

कलेज व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य संघका सदस्य बाबुराम गिरीले निजी स्तरबाट सञ्चालन भएको कलेजले शैक्षिक गुणस्तरमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कलेजका व्यवस्थापन समितिका अध्यक्ष सुमन भट्टराईले कलेजको समग्र शैक्षिक उन्नयन बोर्डको एक मात्र लक्ष्य रहेको र संस्थालाई नमुना कलेज बनाउन बोर्ड सदस्यहरु लागिपरेको बताउनुभयो ।

कलेजका प्राचार्य यदुनाथ आचार्यले साधारण सभाको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै समय सापेक्ष शैक्षिक गुणस्तर र विद्यार्थीलाई कलेजमा आवश्यक पर्ने भौतिक आधार तय गर्दै कास्की जिल्लाकै उत्कृष्ट कलेज बनाउनमा लागिपरेको बताउनुभयो ।

त्रिवेणी इन्टरनेशनल कलेजले कास्कीको लेखनाथमै व्यवस्थापन विषयमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न सफल भएको छ । गुणस्तरीय शिक्षाका लागि विदेशसम्म जानुपर्ने बाध्यताको अन्त्य गर्दै स्थानीय प्रतिष्ठित उद्योगी, व्यवसायी, पत्रकार, शैक्षिक क्षेत्रका अग्रणी व्यक्तित्वहरूको प्रयासमा २०६७ मा खुलेको कलेजमा विद्यार्थीहरूको आकर्षण छ । कलेजमा हाल ५ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।








प्रतिक्रिया राख्नुहोस्