बाढी र पहिरोमा परी कैलालीमा एक जना बेपत्ता, दुई घाइते
धनगढी । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी कैलालीमा एक जना बेपत्ता भएका छन् भने अन्य दुई जना घाइते भएका छन् ।
बाढीमा परी धनगढी उपमहानगरपालिका १३ की २० बर्षीया नबिना चौधरी बेपत्ता भएको प्रहरी जनाएको छ । स्थानीय झलारी खोलामा माछा मार्ने क्रममा उनी डुबेर बेपत्ता भएको उनको खोजी कार्य भइरहेको डिएसपी बेद जोशीले बताउनुभयो ।
यसैगरी वर्षासँगै कच्ची घर भत्किदा टिकापुर नगरपालिका–२ का शिशिर चौधरी घाइते भएका छन् । उनको टिकापुर अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, चुरे गाउँपालिका–३ मा माथिबाट खसेको पहिरोले पसल बगाउदा स्थानीय ८ वर्षका आयुष सापकोटा घाइते भएको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
पहिरोले तीन कोठे पसल र समान पूर्ण रुपमा क्षति ग्रस्त भएको प्रहरीले जनाएको छ ।
बाढीले कैलालीमा १५ घर डुबानमा
अविरल वर्षासँगै आएको बाढीले कैलालीमा करिब १५ सय डुबानमा परेका छन् ।
वर्षासँगै विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण जिल्लाभर करिब १५ सय घर डुबानमा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार बाढीले जोशीपुर गाउँपालिकामा ४०६ घर, लम्कीचुहा नगरपालिकामा १ सय १२ घर, भजनी नगरपालिकामा ७ सय घर, कैलारी गाउँपालिकामा १६० घर, धनगढी उपमहानगरपालिकामा १४ घर, जानकी गाउँपालिकामा ८० घर डुबानमा परेका छन् ।
घर डुबान क्षेत्रमा प्रहरी टोली परिचालन गरि उद्धार कार्य भइरहेको छ । उद्धार गरिएका उनीहरुलाई सुरक्षित स्थानमा राखिएको डिएसपी बेद जोशीले बताउनुभयो ।
कैलालीमा निरन्तर वर्षा भइरहेको छ । वर्षासँगै नदीहरूमा जलस्तर बढेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको स्थानीय प्रशासनले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्