श्रममन्त्री कुँवर र साउदी अरेबियाका राजदूत हैमदबीच भेटवार्ता

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदबीच भेटवार्ता भएको छ । राजदूत हैमद मन्त्री कुँवरलाई भेट्न शुक्रबार मन्त्रालय आउनु भएको थियो ।
भेटमा साउदी अरेबियामा काम गर्ने नेपाली श्रमिकको सुरक्षाका विषयमा छलफल भएको छ । मन्त्री कुँवरले साउदी अरेबियामा काम गर्न जाने नेपालीको समस्या र उनीहरूको सुरक्षाका लागि सहकार्य गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

उहाँले साउदी अरेबियासँग नेपालले समयमै द्विपक्षीय श्रम सम्झौता गर्न नसकेकाले श्रम आप्रवासनका क्षेत्रहरू व्यवस्थित हुन नसकेको बताउनु भएको छ । त्यस्तै उहाँले राजदूत हैमदलाई दुई देशबीचको श्रम सम्झौताको काम अगाडी बढिसकेकाले अब चाँडै श्रम सम्झौता हुने जनाकारी गराउनु भयो ।
उहाँले नेपालबाट साउदीमा सीपयुक्त जनशक्ति पठाउनका लागि त्यहाँको सरकारले पनि सहयोग गर्नु पर्ने बताउनु भयो । त्यस्तै उहाँले साउदीमा काम गर्ने नेपाली कामदारलाई त्यहाँको सरकारले रोजगारको अवधि सकिएपछि बहिर्गमन भिसा समयमै नदिँदा नेपालीले कामदारले समस्या भोग्ने गरेकाले यसमा विशेष सहयोग गरिदिन आग्रह समेत गर्नु भएको छ ।
भेटमा राजदूत हैमदले नेपाल र साउदी अरेबियाको सम्बन्ध मैत्रीपूर्ण भएकाले नेपाली कामदारले भोग्ने गरेका समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने बचन दिनु भएको छ ।










प्रतिक्रिया राख्नुहोस्