चीनका राष्ट्रिय जनकाङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली झान्शु नेपालमा

काठमाडौँ । जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकाङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शु नेपाल आइपुग्नुभएको छ ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली चार दिने भ्रमणका क्रममा आज अपराह्न विशेष विमानबाट काठमाडौँ आइपुग्नुभएको हो ।

अध्यक्ष लीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख सापकोटाले स्वागत गर्नुभयो ।
सभामुख सापकोटा र अध्यक्ष लीबीच आज साँझ संसद् भवनमा नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुने छ ।

आजै सभामुख सापकोटाले अध्यक्ष ली र उहाँको प्रतिनिधिमण्डलको सम्मानमा रात्रि भोजको आयोजना गर्नुहुनेछ ।
अध्यक्ष लीले आफ्नो भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिलसिनासँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुहुने छ ।

यसैगरी, अध्यक्ष लीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्नुहुने कार्यक्रम छ ।













प्रतिक्रिया राख्नुहोस्