तपाईँ सुन्दै हुनुहुन्छः

जलचर प्राणी संरक्षण गर्न समिति गठन

मकवानपुर । मकवानपुरमा जलचर प्राणी संरक्षण तथा सम्बद्र्धन समिति गठन गरिएको छ । आइतबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी समिति गठन गरिएको जानकारी गराइयो ।

मकवानपुरका नदी, नाला, खोल्सा, पानीका स्रोतहरू रहेको ठाउँमा जलचर प्राणीको संरक्षण तथा सम्बद्र्धन गर्नका समिति गठन गरिएको जनाइएको छ ।

विनोद महतको संयोजकत्वमा गठन गरिएको समितिको सचिवमा नवराज खतिवडा, कोषाध्यक्षमा गोकर्ण सुवेदी रहनुभएको छ । यस्तै सदस्यमा कपिल खड्का, गणेश कुमार खड्का, रमेश ढकाल, अशोक कुमार बर्तौला, भवनाथ अधिकारी र भीमसेन खड्का रहनुभएको छ । समितिको संरक्षकमा भीमसेन महत र सल्लाहकारमा नरहरि महत रहनुभएको छ ।

वातावरणमा नकारात्मक प्रभावको असर र मानवीय व्यवहारका कारण जलचरका प्रजाति नै नष्ट भएको जिकिर गर्दै जलचर संरक्षणका लागि राज्यका निकायलाई जिम्मेवार बन्न प्रेरित गरिने संयोजक विनोद महतले बताउनुभयो । जलचरको विकास र विस्तारका लागि खोला तथा नदीमा माछाका भुरा छाड्ने कार्य पनि गरिने उहाँले उल्लेख गर्नुभयो ।

समितिका संरक्षक भीमसेन महतले मानवीय जीवनको रक्षाका लागि जलचर संरक्षण जरुरी रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button