तपाईँ सुन्दै हुनुहुन्छः

फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामा

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकबाट अलमुताइरीले राजीनामाको घोषणा गरेका छन् । नेपालको मुख्य प्रशिक्षक सम्हालेको ५ सय २५ दिनपछि अलमुताइरीले राजीनामा दिएका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले अलमुताइरीले एन्फालाई राजीनामा पत्र पठाएको जानकारी दिनुभयो ।

एन्फाले २०७७ चैत २२ गते अलमुताईरीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । कतार एफएको सहयोगमा कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अलमुताईरीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

एसियन कप छनोटपछि अलमुताइरी नेपाल फर्केका थिएनन् । छुट्टीमा उनी कुवेत गएका थिए । अलमुताइरीको अनुपस्थितिमा एन्फाले प्रदीप हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । नेपालले आगामी असोज दोस्रो साता हुमागाईँको नेतृत्वमा बङ्गलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्नेछ ।

मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रङ्गशालामा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button