बुटवलमा विद्यालय गएका तीन विद्यार्थी बेपत्ता
रुपन्देही । बुटवलमा शुक्रबार विद्यालय गएका तीन विद्यार्थी बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समिर लम्साल तथा १४ वर्षका प्रदीप पन्थी शुक्रबार बिहान विद्यालय हिँडेपछि विद्यालयमा पनि हाजिर नभएको र घरमा पनि सम्पर्कविहीन भएका हुन् ।
नवीन औद्योगिक मावि कक्षा ९ मा पढ्ने दुई जना र नहरपुर मावि कक्षा ८ मा पढ्ने १ जना सँगै घरबाट निस्केपनि सम्पर्कविहीन भएको परिवारले जनाएको छ । सागर पौडेलका मामा राजु पन्थीले बिहान झोला बोकेर विद्यालय गएपनि कतै सम्पर्क नभएकाले सबैतिर खोजबिन गरिरहेको र प्रहरीमा पनि निवेदन दिएको बताउनुभयो।
बेपत्तामध्ये समिर लम्सालले शनिबार दिउसो २ बजे आफन्तलाई फेसबुक म्यासेनजरमा खबर पठाउँदै आफूहरूलाई अज्ञात स्थलमा राखिएको जानकारी दिएका छन् । उनले आफूहरूलाई अचेत बनाएर ल्याएको र २ बजे मात्रै होस खुलेको म्यासेजमा लेखे पनि त्यसपछि कुनै सम्पर्क भएको छैन । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले परिवारको निवेदन अनुसार सबैतिर खोजविन भइरहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्