तपाईँ सुन्दै हुनुहुन्छः

पाइप लाइनबाट डिजेल ल्याउँदा तीन वर्षमा पाँच अर्ब बचत

बारा  । पेट्रोलियम पाइपलाइन मोतिहारीदेखि अमलेखगंज सञ्चालनमा आएको तीन वर्षमा नेपाल आयल निगमले पाँच अर्ब रुपैयाँ बचत गरेको छ । 

पाइपलाइन सञ्चालनमा आएको तीन वर्ष पूरा भएको अवसरमा बाराको अमलेखगंजस्थित आयल निगमको प्रादेशिक कार्यालयमा आयोजित कार्यक्रममा पाइपलाइन अत्यन्तै सफल भएको जानकारी दिइएको हो ।

दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना अन्तर्गत मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइन २०७६ भदौ २४ गतेदेखि सञ्चालनमा आएको थियो । 

पाइपलाइनको तीन वर्ष सफल भएको अवसरमा आयोजित कार्यक्रममा प्रादेशिक कार्यालयका प्रमुख प्रदीप यादवले सोचे अनुसार नै पाइपलाइन सफल देखिएको बताउनुभयो ।

 

अहिले पाइप लाइनबाट डिजेल आयात भइरहेको जानकारी दिँदै उहाँले २०२४ जनवरीदेखि पेट्रोल र मट्टितेल समेत पाइप लाइनबाटै आयात गर्ने बताउनुभयो  ।  

पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनसम्म पुर्‍याउने र सर्लाहीसम्म ग्यास पाइपलाइन समेत विस्तार गर्ने कार्य अघि बढेको पनि उहाँले जानकारी दिनुभयो  । 

ग्यास पाइपलाइन सञ्चालनमा आएपछि भारतीय बुलेटले लैजाने गरेको ६ अर्ब रुपैयाँ विदेशिनबाट रोकिने तथा निगमको वार्षिक ४ अर्ब बचत हुने प्रादेशिक कार्यालय अम्लेखगंजले जनाएको छ ।

पछिल्लो तीन वर्षमा २८ लाख ९२ हजार चार सय २९ किलो लिटर डिजल आयात भएको छ ।पाइप लाइनबाट वार्षिक २५ लाख किलो लिटर इन्धन आयात गर्ने क्षमता छ । हाल सञ्चालनमा रहेको ६९.२ किलोमिटरको पाइप लाइनबाट डिजलमात्रै आयात गरिरहेको निगमले पेट्रोल र मट्टितेल ल्याउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button