तपाईँ सुन्दै हुनुहुन्छः

समृद्धिका लागि हातेमालो गरी अगाडि बढ्नुपर्छ: मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको समृद्धिका लागि सरकार र निजी क्षेत्र हातेमालो गरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

file photo

नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को आज काठमाडौँमा समापन गर्नुहुँदै सञ्चारमन्त्री कार्कीले नेपालमा लगानीको वातावरण बन्दै गएकाले ढुक्क भएर लगानी गर्न सकिने बताउनुभयो ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री कार्कीले लगानी प्रवर्द्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने नीतिगत तथा कानूनी व्यवस्था मिलाउन आवश्यक सुझाव दिन पनि निजी क्षेत्रका लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो ।

मन्त्री कार्कीले २०७२ को संविधान निर्माणपछि देशमा नयाँ राजनीतिक जग बसिसकेको उल्लेख गर्दै आसन्न निर्वाचनपछि सबैको मूल ध्यान देशको समृद्धिमा केन्द्रित हुने बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले नेपाली निर्माण व्यवसायीको क्षमता विकास गरी तोकिएको समय सीमाभित्र विकास आयोजनाहरू सम्पन्न हुने वातावरण बनाउनु निजी क्षेत्रको समेत दायित्व भएको बताउनुभयो ।

उद्योगपति एवं सांसद विनोद चौधरीले देशको समृद्धिका लागि नीजि क्षेत्र सरकारसँग सहकार्य गरी अगाडि बढ्ने बताउनुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले समृद्ध नेपालको साझा चाहना पुरा गर्न नेपालको निजी क्षेत्र लागिरहेको बताउनुभयो ।

दुई दिनसम्म चलेको नेपाल पूर्वाधार सम्मेलनमा नेपाल, भारत लगायतका देशहरूबाट पूर्वाधार विज्ञ एवं लगानीकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button