तपाईँ सुन्दै हुनुहुन्छः

मर्यादित न्यायका लागि मर्यादित भूमिका: बार अध्यक्ष घिमिरे

सप्तरी । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले मर्यादित भूमिकाले मात्र मर्यादित न्यायको कल्पना गर्न सकिने बताउनुभएको छ ।

राजविराजमा आज आयोजित प्रदेश स्तरीय कानूनी सहायता प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा अध्यक्ष घिमिरेले मर्यादापूर्ण न्याय प्रणालीका लागि अनुसन्धान गर्ने प्रहरी, अदालतका कर्मचारी, न्यायाधीश, कानून व्यवसायी र सरकारी वकिल मर्यादित र अनुशासित हुनुपर्ने बताउनुभयो ।

न्यायालयको सुदृढीकरण आफ्नो कार्यकालको परिवर्तनको बिन्दु हुने घोषणा गर्नुभएका घिमिरेले मर्यादित, जिम्मेवार र अनुशासित कानून व्यवसायी बनाउने अभियानमा सहयोगको अपिल गर्नुभयो ।

राज्यलाई गत वर्ष ७० करोड राजस्व तिरेका कानून व्यवसायीले आउने वर्ष एक अरब रुपियाँ कर तिर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

कर तिर्ने १२ हजार कानून व्यवसायीको गुणस्तर वृद्धिका लागि तालिममा सहभागी गराउने र आगामी वर्ष कर तिर्ने कानून व्यवसायीको सङ्ख्या १५ हजार पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

नेपाल बार एसोसिएसनका महासचिव अञ्जिता खनालले एकीकृत कानूनी सहायता नीति परिमार्जन गर्न जरुरी रहेको बताउनुभयो । साधन, स्रोत, कार्यालय भवनको अभावमा कानूनी सहायता अधिकृतले समयमा तलब नपाउने अवस्था अन्त्य हुनुपर्ने र कानूनी सहायता अधिकृतहरूले समयमा प्रतिवेदन नबुझाउने, पीडितको कुरा नसुन्ने, सेवा नदिने, मापदण्डमा नबस्नेजस्ता कमजोरी सुधार गर्नुपर्ने बताउनुभयो ।

एसोसिएसनका कोषाध्यक्ष भरतबहादुर राउतले कानून व्यवसायीको स्तर बढाउने र न्याय क्षेत्रको भ्रष्टाचार कम गर्ने अभियानमा बार एसोसिएसन लागेको बताउनुहुँदै अड्डा, अदालत भ्रष्टाचारी र विचौलियाको होइन भनेर पुष्टि गर्ने चुनौती काँधमा रहेको बताउनुभयो ।

बार एसोसिएसनका उपाध्यक्ष तथा मधेस प्रदेश समन्वय समितिका संयोजक सुधीर कर्णको अध्यक्षतामा कार्यक्रम शनिबारसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button