‘जनस्वास्थ्यको क्षेत्रमा धेरै ठूलो फड्को हान्ने सम्भावना छ’
कास्की । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता, राष्ट्र र सामाजिक क्षेत्रको जीवनप्रति स्वास्थ्य क्षेत्र संवेदनशील रहेको बताउनुभएको छ ।

पार्टी निकट अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घको आजदेखि पोखरामा सुरु भएको दुई दिने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले विज्ञान र प्रविधिको विकाससँगै स्वास्थ्य क्षेत्रमा पनि नयाँ-नयाँ प्रविधिको विकास भएकाले जनस्वास्थ्यको क्षेत्रमा धेरै ठूलो फड्को हान्ने सम्भावना प्रबल बनेको उल्लेख गर्नुभयो ।
उहाँले पुँजीवादले स्वास्थ्य क्षेत्रलाई व्यापारको विषय बनाउने र जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने प्रवृत्ति कायमै रहेको उल्लेख गर्नुभयो । स्वास्थ्यमा भएको प्रगति, यस क्षेत्रमा भएको नयाँ नयाँ प्रयोग र आविष्कारले जनस्वास्थ्यमा गुणात्मक प्रगतिको सम्भावना रहेको पनि उहाँले औँल्याउनुभयो ।

उहाँले दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा सुधारको निम्ति स्वास्थ्य बीमासम्बन्धी नयाँ नीति ल्याएर लागू गरे पनि चाहेअनुसार अहिले अगाडि बढ्न नसकेको बताउनुभयो ।
नयाँ संविधान निर्माणपछि शिक्षा, स्वास्थ्य र रोजगारीलाई जनताको मौलिक अधिकारका रूपमा परिभाषित गरिए पनि उपयुक्त कानून बन्न नसक्दा कार्यान्वयनमा चुनौती देखिएको अध्यक्ष दाहालको भनाइ छ ।
महाधिवेशनमा देशैभरिबाट गरी पाँच सय प्रतिनिधि र ७५ पर्यवेक्षक गरी ५७५ जना प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको महासङ्घका अध्यक्ष डा कृष्णसागर पौडेलले जानकारी दिनुभयो । महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने बताइन्छ ।
विसं २०६३ मा स्थापना भएको सङ्गठन विसं २०६५ मा महासङ्घमा परिवर्तन हुँदै आफ्ना कार्यक्रम अगाडि बढाइरहेको र महासङ्घमा देशभर गरी ५० हजार सङ्गठित सदस्य आबद्ध रहेको महासङ्घका नेता सागर लुइँटेलले जानकारी दिनुभयो ।
नेपाल सरकारको कार्यालयमा आबद्ध स्वास्थ्य स्वयंसेविकादेखि १२ तहका स्वास्थ्यकर्मीसम्म, प्राविधिक शिक्षा लिएका स्वास्थ्यकर्मीदेखि उच्चपदस्थ प्राध्यापकसम्म विभिन्न स्वास्थ्य व्यवसाय गर्ने स्वास्थ्य व्यवसायीदेखि औषधि उत्पादन गर्नेसम्म महासङ्घमा आबद्ध रहेको केन्द्रीय उपाध्यक्ष शिव केसीले जानकारी दिनुभयो ।
देशभर व्यक्तिगत रूपमा स्वास्थ्य पेशामार्फत जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी लगायत सशस्त्र युद्धको बेला युद्ध मोर्चामा सामेल स्वास्थ्यकर्मी समेत यस महासङ्घमा आबद्ध छन् ।
रासस







प्रतिक्रिया राख्नुहोस्