बझाङमा अझै पाठ्यपुस्तक अभाव : पढाइ प्रभावित
बझाङ । बझाङमा पाठ्यपुस्तक अभाव हुँदा पढाई प्रभावित बनेको छ । नयाँ शैक्षिक सत्र सुरु भएको ४ महिना बितिसक्दा पनि बझाङका सामुदायिक विद्यालयका विद्यार्थीहरूले अझै पनि पाठ्यपुस्तक पाउन नसकेका हुन् । पाठ्यपुस्तक नभएका कारण विद्यार्थीहरू विद्यालय जान मानेका छैनन् भने शिक्षकहरु फुर्सदिला बनेका छन् ।
गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक पाउन नसकेका हुन् । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा पठनपाठन प्रभावित भएको छ भने विद्यार्थीहरू अन्योलमा छन् ।
जिल्लाका दुर्गम भेगका विद्यालयमा मात्रै होइन सदरमुकाम चैनपुर बजारकै सत्यवादी माध्यमिक विद्यालय, बालमन्दिर आधारभूत विद्यालय लगायतका विद्यालयमा पनि पाठ्यपुस्तकको अभाव छ ।
किताब नपाउँदा अध्ययनमा समस्या भएको सत्यवादी माध्यमिक विद्यालयका विद्यार्थी मिलन सिंहले बताउनुभयो । अहिले नयाँ किताब नआउँदा पुराना किताब साथीहरूसँग मिलेर पढ्नुपर्ने अवस्था आएको साइपाल गाउँपालिकामा रहेको धलौन माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी लव कुमार धामीले गुनासो गर्नुभयो ।
जिल्ला सदरमुकाममै पढ्ने विद्यार्थीले त पाठ्यपुस्तक अहिलेसम्म पाएका छैनन् भने दुर्गमका विद्यार्थीले पाउनसक्ने अवस्था तत्कालै देखिँदैन । विद्यार्थीले पाठ्यपुस्तक पाउन नसक्दा पठनपाठनमा समस्या भएको सत्यवादी माध्यमिक विद्यालयका शिक्षक लक्ष्मण उपाध्यायले बताउनुभयो ।
जयपृथ्वी नगरपालिकाका शिक्षा संयोजक देवेन्द्र जोशीले भने आफूले पुस्तक खरिदको लागि चैतको महिना विद्यालयको खातामा रकम जम्मागरिसकेको र कतिपय विद्यालयका प्रधानाध्यापकको बजारमा पुस्तक अभावभएकोले खरिदमा ढिलाइ भएको उत्तर दिने गरेको बताउनुभयो । कतिपय विद्यालयले धनगढी, महेन्द्रनगरबाट ल्याएर विद्यार्थीलाई पुस्तक वितरण गरेको भए पनि भदौ सकिनै लाग्दा समेत पुस्तक नपुगेको आफूले जानकारी पाएको संयोजक जोशीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्