तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौँ । सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज साँझ ५ः०० बजे बालुवाटारमा पुनः बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलवार साँझ करिब तीन घण्टा कार्यदलबीच छलफल भएको र केही विषय टुङ्ग्याउन बाँकी रहेकोले आजको बैठकमा ती विषय पनि टुङ्ग्याएर प्रतिवेदन तयार गरिने बताइएको छ ।

कार्यदलले प्रतिवेदन तयार गर्ने र आजै शीर्ष नेताहरूलाई सो प्रतिवेदन बुझाउने गरी तयारी भइरहेको कार्यदलको सचिवालय सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

गठबन्धनमा आबद्ध दलहरूले आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेपछि सो कार्यदलको बैठक निरन्तर बस्दै आएको छ ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला कार्यदलको संयोजक रहनुभएको छ भने नेपाली काँग्रेसबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, महामन्त्री गगन थापा र नेकपा माओवादी केन्द्रबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव वर्षमान पुन कार्यदल सदस्य रहनुभएको छ ।

यस्तै, कार्यदलमा नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जसपाबाट नेता रामसहायप्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट नेता हिमलाल पुरी र आनन्द शर्मा रहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button