तपाईँ सुन्दै हुनुहुन्छः

केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ बहुमतले पारित

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई बहुमतले पारित गरेको छ ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले प्रस्तुत गर्नुभएको केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई बैठकले बहुमतले पारित गरेको हो ।

file photo

यसअघि त्यस विधेयकमाथि भएको छलफलमा सांसद्हरुले निर्वाचनको प्रक्रिया सुरु भइसेकेको भन्दै प्रतिनिधि सभाको कार्य अवधि थप्ने गरी विधेयक ल्याउन नहुने धारणा राख्नुभएको थियो ।

सांसद्हरुले विधेयकमाथि एकल र संयुक्त गरी ११ वटा संशोधन प्रस्ताव पनि राख्नुभएको थियो ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संविधानको व्यवस्थाअनुसार नै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालका सम्बन्धमा व्यवस्था गर्न खोजिएको बताउनुभयो ।

मन्त्री कोइरालाले कार्यकालका सम्बन्धमा अनावश्यक राजनीति गरिएको भन्दै कानूनी रिक्तता र अभाव परिपूर्ति गर्ने सोचका साथ प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालको प्रबन्ध गर्न खोजिएको स्पष्ट पार्नुभयो ।

अवैध रूपमा आर्जित गरेको सम्पत्तिलाई कोही कसैले स्विकार्न नसक्ने भए पनि अन्तर्राष्ट्रिय स्तरमा विकास भएका नयाँ कानूनलाई स्वीकार गरेर हाम्रोमा समसामयिक बनाएर जानुपर्नेमा कानुन मन्त्री कोइरालाले जोड दिनुभयो ।

यस अघि प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले किसानले समयमा मल तथा बिउ पाउन नसकेको, हाल सञ्चालनमा रहेका नेपाल स्टक एक्सचेन्जलाई प्रभावकारी एवं सुदृढ गर्दै आधुनिकीकरण गर्नुपर्ने, राष्ट्रिय सहमति जुटाएर नागरिकता विधेयक पारित गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसै गरी सांसदहरुले भूकम्प प्रभावित नागरिकको आवास निर्माणको काम पूरा नभएकाले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणको कामलाई व्यवस्थित बनाउन र ४० हजार भूकम्प प्रभावितको समस्याको समाधान गर्न माग पनि गर्नुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउसो १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button