राष्ट्रिय सभाबाट विभिन्न विधेयकहरू पारित

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ र प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोस् भनी प्रस्तुत गरिएको शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ लाई पारित गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुन पारियो गरियोस् भनी प्रस्तुत गर्नुभएको शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ लाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
कारागार विधेयक २०७९ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री खाणले कारागारमा रहेका बन्दीको मानसिक अवस्थाको व्यवस्थापनमा सुधार गर्न सरकारले काम गर्ने बताउनुभयो ।
बैठकले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त बिमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ लाई सर्वसम्मत स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त बीमा विधेयक, २०७५ माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै अर्थ मन्त्री शर्माले गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचका लागि ल्याइएको स्वास्थ्य बिमालाई यो विधेयकले कुनै बाधा नगर्ने जानकारी दिनुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
राष्ट्रियसभाको अर्को बैठक भदौ २६ आइतबार दिउँसो १२ बजेर ५९ मिनेटमा बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्