तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा पनि मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइँदै

कञ्चनपुर । मानव बेचबिखनविरुद्धको सोह्रौँ राष्ट्रिय दिवस सोमबार कञ्चनपुरमा पनि विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै छ । शान्ति पुनर्स्थापना गृहको आयोजना तथा महिला बेचबिखन विरुद्ध अभियान सञ्चालन गरिरहेका विभिन्न सामाजिक संस्थाहरूको ऐक्यबद्धतामा सोमबार उक्त दिवस मनाइएको हो । मानव बेचबिखनबाट जोगाउन चाल्नुपर्ने कदम र सचेतना, बेचबिखनमा परेका मानवको उद्धार लगायतका विषयमा चेतनामूलक कार्यक्रम गरिएको बताइएको छ ।

यसै क्रममा कञ्चनपुरको बेलौरीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको लागि सङ्गठित संस्था शान्ति पुनर्स्थापना गृह, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पालिकाको महिला तथा बालबालिका शाखा, शिक्षण संस्थाहरू महाकाली मावि र शारदा माविका शिक्षक तथा विद्यार्थीहरू, मानव बेचबिखन तथा ओसारपसार विरुद्धको क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिहरू र राष्ट्रिय तथा स्थानीय छापा र विद्युतीय सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरूको उपस्थितिमा बेलौरी बजार परिक्रमा गरी महाकाली माविको प्राङ्गणमा कोणसभा गरी मनाइएको छ ।

कोणसभामा महाकाली मावि व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह बोहरा, महाकाली माविका प्रधानाध्यापक रमेशसिंह भण्डारी, शारदा माविका शिक्षिका जयन्ती पन्त, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारी, सञ्चारकर्मीहरूको प्रतिनिधित्व गर्दै पत्रकार हरिश्चन्द्र बाग र बास नेपालका प्रतिनिधि नवराज अवस्थीले मानव बेचबिखन तथा ओसारपसारका सन्दर्भमा चेतनामूलक वक्तव्य राख्नु भएको थियो । उक्त सभामा मानव बेचबिखन तथा ओसारपसारको पछिल्लो अवस्था र शान्ति पुनर्स्थापना गृहले गरिरहेका क्रियाकलापका बारेमा शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीका प्रतिनिधि नितु विष्टले प्रकाश पार्दै कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । उहाँका अनुसार, सोमबार साँझ बेलौरी बजार स्थित भीमदत्त चोकमा दीप प्रज्वलन गर्ने कार्यक्रम समेत तय गरिएको छ ।

के हो मानव बेचबिखन तथा ओसारपसार ?

मानव बेचबिखन तथा ओसारपसार एक बहुआयामिक, बहुक्षेत्रगत एवं विश्वव्यापी समस्या हो । यसलाई जघन्य अपराधको रूपमा लिइन्छ र नेपाल पनि यस समस्याबाट अछुतो छैन । कुनै न कुनै रूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारी, झुक्क्याई, डर त्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छा विपरीत जबरजस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई मानव बेचबिखन भनिन्छ । सन् २००२ मा काठमाडौँमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित “महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि, २००२” लाई वि।सं। २०६३ भदौ २० गतेका दिन तत्कालीन व्यवस्थापिका संसद्बाट अनुमोदन भएपछि सोही दिनको स्मरणमा २०६४ सालदेखि प्रत्येक वर्ष भदौ २० गतेका दिन यो दिवस मनाउन लागिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button